विनय कर्ण । सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले कर्मचारीहरूको सरुवा प्रकरणमा जनप्रतिनिधिहरू दुई गुटमा विभाजन भएका छन् । जनप्रतिनिधिको एक गुटले सरुवाको स्वागत गरेका छन् भने अर्को गुटले विरोध गरेको छ । गाउँपालिका अध्यक्ष हरेराम यादवले प्रमुख प्रशासकिय अधिकृत रेणुका साहले गरेको कर्मचारी सरुवालाई स्वागत गरेका छन् । उनले गाउँसभाको म्यान्डेड अनुसार र जनगुनासो आएको आधारमा प्रमुख प्रशासकीय अधिकृतले गरेको कर्मचारी सरुवाको कदम स्वागत योग्य भएको बताए ।
कर्मचारी व्यवस्थापन गर्ने जिम्मा प्रमुख प्रशासकीय अधिकृतको भएकोले यसमा जनप्रतिनिधिले हस्तक्षेप गर्न नहुने अध्यक्ष यादवले बताए । ‘कर्मचारी सरुवा गरिएपछि वडा अध्यक्ष र कार्यपालिका सदस्यले त्यसको विरोध गर्नुले शंका उब्जाएको छ’ उनले भने ‘सबै जनप्रतिनिधिले विरोध गरेका छैनन्, केहीले गर्दैछन् र यसमा उनीहरूको कुनै न कुनै स्वार्थ लुकेको छ ।’ तर अर्को गुटले भने प्रमुख प्रशासकीय अधिकृतको कर्मचारी सरुवाको कदम गलत भएको भन्दै त्यसको विरोधमा ज्ञापन पत्र बुझाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन् । गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष अमर मुखिया, वडा नम्बर ४ का वडा अध्यक्ष छेदी इसर, वडा नम्बर ५ का वडा अध्यक्ष जगदीश दास, वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष बद्री नारायण चौधरी र कार्यपालिका सदस्य ज्ञानेन्द्र प्रसाद इसर, सितादेवी साह, भूपीया देवी खंग, देवकी देवी, रामकुमारी सदा र लिला देवी साह गरी १० जनाको नाम उल्लेख रहेकोमा ७ जनाले हस्ताक्षर गरी कर्मचारी सरुवाको विरोधमा प्रमुख प्रशासकिय अधिकृत, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्वय समिति सप्तरीमा लाई ३ बुन्दे ज्ञापन–पत्र बुझाएका छन्। ज्ञापन–पत्रमा निर्वाचित वडा अध्यक्षहरूलाई वेवास्ता गर्दै निरंकुश अधिनायकवादी चरित्र देखाई आम जनतालाई दुःख दिने नियतले स्थानिय सरकारको मर्म र भावना विरुद्ध कर्मचारी सरुवा गरिएको उल्लेख छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष छेदी इसरले राजनैतिक पूवाग्रही भावनाले राजनैतिक व्यक्तिको दवावमा आफ्नो अभिष्ट पुरागर्न सरुवा गरिएको बताए । उनले ज्ञापन पत्र बुझाएको ७ दिन भित्र माग पुरा नभए कडा आन्दोलन गर्ने जानकारी दिए । यता, गाउँपालिकाकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहले जनप्रतिनिधिहरू अधिकार क्षेत्र भन्दा बाहिर गएको बताएका छन्। टुडे एक्सप्रेस संग कुरा गर्दै उनले अनावश्यक विवाद झिकेर उनीहरू कर्मचारीहरूको संरक्षणमा लागेको बताए । ‘कर्मचारी संग सम्बन्धित कुरा जनप्रतिनिधिहरूले उठाउनै नहुने हो। यो सरासरी गैरकानुनी काम जस्तो लाग्छ, उनीहरूले ऐन कानुन र आफ्नो अधिकार क्षेत्र हेर्नुपर्ने हुन्छ’ उनले भनिन्, ‘यसरी कसरी सुशासन कायम हुन्छ ? कसरी सेवा प्रवाह हुन्छ ? त्यसको व्यवस्थापन गर्ने काम प्रमुख प्रशासकीय अधिकृत हो।’ उनले अधिकार क्षेत्र नै नभएको काममा नलाग्न जनप्रतिनिधीहरूलाई सुझाव दिईन्।
‘जे भएको छ त्यसबाट पछि हटिँदैन, त्यो कायमै हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत साहले भनिन् ‘अहिले विकासका काम अगाडी बढाउनु पर्ने बेला हो त्यतातिर उनीहरूको ध्यान छैन् तर अनावश्यक विवादमा लाग्नु भएको छ ।’ गत फागुन ३ मा गाउँपालिकाले विभिन्न वडाहरूमा आन्तरिक सरुवा गरेको थियो । कर्मचारी सरुवाको विषयलाई लिएर जनप्रतिनिधीहरू नै दुई गुटमा विभाजित भएका छन् ।
तपाईको प्रतिक्रिया !!