नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए त्यसबारे जनतालाई जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।उनले एमसीसी यथास्थितिमा पास नहुने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्नुपर्ने बाध्यता आफूहरुलाई आइलागेको उनले बताए । साथै त्यसबारे व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुनेबारे जनतालाई स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आएकै दिन सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
समाजवादी मोर्चाले बुटवलमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘त्यो इन्डोप्यासिफिक स्ट्राटेजीको अंग हुन सक्दैन । त्यो भनेको चीनलाई घेराउ गर्ने रणनीति हो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन सक्दैन । हामी कसैलाई शत्रु घोषणा गर्दैनौं । नेपालले नेपालको कानुनभन्दा अरुको कानुन माथि हुनु हुँदैन भन्ने १२ वटा विषयलाई अगाडि सारेको छ ।’
उनले देशभन्दा ठूलो सत्ता हुन नसक्ने भन्दै पहिला देशलाई बचाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका थिए ।
यस्तै नेता नेपालले विगतका सरकारबाट भएको कमजोरीका कारण एमसीसी सम्झौता गर्नुपरेको पनि बताएका थिए । उनले भनेका छन्, ‘भोलिदेखि त्यो लागू हुने कुरा सुनिँदैछ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, त्यसमा कुनै अनुचित कुरा बाँकी छन् भने, हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् । विदेशीकासामु हामी झुक्नुपर्ने कारण छैन ।’
नेपालले विदेशीका धम्की सुन्ने र स्वीकार गर्न नहुने उनको भनाइ थियो । ‘विदेशीका धम्की हामी स्वीकार्दैनौं । हाम्रो लागि सत्ता प्यारो होइन, देश प्यारो हो ।’
तपाईको प्रतिक्रिया !!