
टुडे एक्सप्रेस । जनकपुरधाम । संविधानको धारासहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरबाट विरोध पत्र पठाइएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीमार्फत विरोध पत्र प्रधानमन्त्रीलाई पठाएको हो। विरोध पत्रमा प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक कदममाथि पश्चातापका साथ राष्ट्रका सामु क्षमा याचना गर्दै प्रतिनिधिसभा पुनः सञ्चालन गरी संविधानलाई क्रियाशील बनाउन अनुरोध गरिएको छ ।
संविधानले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै पनि अधिकार नदिएकाले संविधानको धारा पुनः अध्ययन गर्न विरोध पत्र पठाइएको प्रदेश २ का नेकपा साँसद रामकुमार यादवले जानकारी दिए । शुक्रवार साँसद यादव नेतृत्वमा नेकपा नेताहरूको टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाए । सिरहामा नेकपा कार्यकर्ताले संसद विघटन र प्रधानमन्त्री ओलीविरुद्ध नारा जुलुस समेत गरे। यस्तै धनुषा, महोत्तरी, बारा, पर्सा,रौतहटलगायतका जिल्लाबाट समेत प्रधानमन्त्री ओलीलाई नेकपाले विरोधपत्र पठाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता नेकपा प्रचण्ड–माधव समूहले विभिन्न संघर्षका कार्यक्रम गरिदै आएको छ ।
तपाईको प्रतिक्रिया !!