
जनकपुरधाम । कोरोना कहरकाबीच गुज्रिएको प्रदेश २ को अवस्था सामान्यतर्फ उन्मुख बन्दै गएको छ । प्रदेशका आठ वटै जिल्ला कोरोना भाइरसका कारण थला परेको थियो । एक बर्षको अवधीमा १७ हजार १ सय ९८ जना कोरोना संक्रमित भएको यो प्रदेशमा बिहीबारसम्म १४ जना मात्रै सकृय संक्रमित रहेका छन् ।
र, ४ वटा जिल्लामा सकृय संक्रमित शून्यमा झरेको छ । सप्तरी, सिरहा, महोत्तरी र सर्लाहीमा एक जना पनि संक्रमित नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यी चार जिल्लामा संक्रमित नरहँदा बाँकी ४ जिल्लामा १४ जना मात्रै संक्रमित छन् । सबैभन्दा बढी धनुषामा ७ जना संक्रमित रहँदा बारामा ४, रौतहटमा २ र कोरोनाका कारण सबैभन्दा आक्रान्त रहेको पर्सामा जम्मा १ जना मात्रै संक्रमित छन्। यी १४ जना संक्रमित पनि होम आइसोलेसनमै छन्। संक्रमित होम आइसोलेसनमा रहँदा आठ वटै जिल्लाका सरकारी आइसोलेसन खाली भएका छन् ।
कोरोना संक्रमणका कारण प्रदेशमा २ सय ९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पर्सा जिल्लामा ५१ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन्। त्यसपछि सप्तरीमा ४१ जनाले ज्यान गुमाउँदा सिरहा र धनुषामा २५÷२५ जनाले ज्यान गुमाएका छन्। यस्तै, बारामा १४ जना, महोत्तरीमा १८ जना, सर्लाहीमा १४ जना र रौतहटमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गएको छ । प्रदेशमा १ लाख ४६ हजार ८० जनाको स्वाब संकलन गरिएको छ ।
तपाईको प्रतिक्रिया !!