नारायणप्रसाद अधिकारी । जनकपुर । सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव कृष्णप्रसाद काप्रीले लक्ष्मणरेखाभित्र रहेर विद्यार्थीको सिकाइ उपलब्धि बढाउने काम गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई निर्देशन दिएका छन्। शिक्षा तालिम केन्द्र, बाराद्वारा माध्यमिक विद्यालयका प्रअहरूको लागि जनकपुरधाममा सोमवार आयोजित नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा उनले प्रअहरूलाई यस्तो निर्देशन दिएका हुन्। ‘कार्यक्षेत्रमै गएर प्रअले गर्ने काम, समस्या, समाधानको प्रत्यक्षानुभूति हुने किसिमको तालिम आवश्यक रहेको छ,’ उनले भने ‘नीतिगत तहको अन्योलताले गर्दा शासक र शासित दुबै सन्तुष्ट छैनन् र त्यसको प्रत्यक्ष प्रभाव शिक्षाक्षेत्रमा परेको छ ।’
शिक्षाक्षेत्रमा राम्रो सोचका साथ ल्याइएको निरन्तर मूल्याङ्कन र अक्षराङ्कन पद्धतिलाई शिक्षकहरूकै अकर्मण्यताका कारण असफल बनाउने काम भएकोमा चिन्ता व्यक्त गर्दै काप्रीले विद्यालयको प्राज्ञिक र प्रशासकीय व्यवस्थापन मिलाउनु प्रअको प्रमुख दायित्व भएकोमा जोड दिए । यस प्रदेशका केही विद्यालय राम्रा भएकोमा प्रशंसा गर्दै उनले धेरै विद्यालय राम्रा बनाउन तालिममा सहभागीलाई आग्रह गरे। प्रदेश २ तालिम केन्द्र प्रमुख गोपालप्रसाद कँडेलले कोरोनाका कारण तालिम सञ्चालमा प्रत्यक्ष असर परेको र हाल तीब्रताका साथ तालिम सञ्चालन भइरहेका जानकारी दिए ।
प्रदेश २ को शैक्षिक अवस्था सुधार्न विभिन्न मोड्युलका तालिम सञ्चालन गर पनि प्रदे े श २ का ५२ सय शिक्षकलाई तालिम दिन दुईहजार दिन आवश्यक हुनेमा यो आर्थिक वर्षमा दुई सय दिनमात्र रहेको बताए । उनले यस तालिममा सहभागी प्रअहरूको काँधमा आधारभूत तहका प्रअ तथा शिक्षकलाई तालिम सहजीकरण गर्ने जिम्मेवारी समेत दिने सोच तालिम केन्द्रले लिएको बताए । शिक्षा तथा समन्वय इकाइ धनुषाका निमित्त प्रमुख राजदेव यादव प्रधानाध्यापकले आफ्नो विद्यालयमा काम गरेर देखाउन आग्रह गरे। तालिममा प्रदेशको शैक्षिक अवस्था विगतमाभन्दा धेरै खस्किएकोले सुधार्न जोडतोडका साथ लाग्नुपर्नेमा वक्ताहरूले आग्रह गरेका छन्। सहजकर्ता सुनिल मल्लिक, संयोजक भागिरथ झा संकटमोचन माविका प्रअ लगायतका वक्ताले धारणा राखेका हुन्। सप्तरी, सिरहा, धनुषा महोत्तरीका २७ जना माविका प्रअ सम्मिलित तालिम आजदेखि १० दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!