जनकपुरधाम : प्रदेश नं २ का प्रमुख तिलक परियारले प्राप्त उपलब्धिको रक्षा र थप विकासका लागि गहन जिम्मेवारी बहन गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
प्रदेशसभाको तेस्रो वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा उहाँले प्रदेश नं २ ले प्राप्त गरेको उपलब्धि सिङ्गो राष्ट्रका लागि अनुकरणीय रहेको धारणा राख्नुभयो ।उहाँले जिम्मेवारी बोधका साथै जनताप्रतिको दायित्व निर्वाहलाई इमानदार भइ बहन गर्नु अपरिहार्य छ भन्नुभयो ।
मुख्यमन्त्री लालबाबु राउतले संविधानको गलत व्याख्या गर्दे संविधानलाई नै समाप्त पार्ने क्रियाकलापप्रति सम्पूर्ण परिवर्तनकारी शक्ति एकताबद्ध भई विरोध गर्नु जरूरी छ भन्दै प्रदेशमा सत्ता र प्रतिपक्षको सकारात्मक पहलले हरेक तहमा विकासको अनुभूति भइरहेको बताउनुभयो । उहाँले प्रदेशलाई विधिसम्मत सञ्चालन गर्ने सन्दर्भमा तीन वर्षमा ४२ वटा ऐन निर्माण गरिएको र अन्य प्रदेशका लागि नमूना बनेको धारणा व्यक्त गर्नुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले प्रतिनिधिसभा विघटन स्वीकार्य नहुने बताउनुभयो ।
सभामुख सरोजकुमार यादवको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख प्रतिपक्षी दलका नेता शत्रुधन महतो र नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, सिँचाइ , चुरे संरक्षण, नदी उत्खनन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिनु आवश्यक छ भन्नुभयो ।
तपाईको प्रतिक्रिया !!