
विनय कर्ण । राजविराज । मंसिर २३ गते । सप्तरीमा खेलकुद मैदान निर्माणमा भ्रटाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यमा संलग्न ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरकोे छ । शम्भुनाथ नगरपालिका १ मा खाँडो खोलास्थित खेलकुद मैदान मर्मत सम्भारका लागि खेलकुद मन्त्रालयबाट आएको बजेटमा २ लाख ७५ हजार ६२३ थप गरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेस गरको पाइएपछि अख्तियारले मुद्दा दायर गरको हो। तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर विकास श्रेष्ठ, तत्कालीन प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादव, जिल्ला खेलकुद विकास समितिका तत्कालीन उपाध्यक्ष धिरेन्द्र बर्मा र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
खेल मैदान निर्माणमा आर्थिक अनियमितता भएको उजुरी निवेदन आएको र सो सम्बन्धमा अनुसन्धान गर्दा चार जनाको मिलोमतोमा बढी रकम भुक्तानी लिने÷दिने गरी नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने कार्य गरको पाइऐको अख्तियारले दावी गरेको छ । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर विकास कुमार श्रेष्ठले फुटबल मैदान निर्माण योजनामा माटोको कामको नापजाँच गरी भए गरेको कामको नापी अनुसार बिल बनाउनुपर्नेमा सो नगरको, कामको नापी गरी सोही अनुसारको प्राविधिक बिल बनाई भुक्तानीका लागि सिफारिस गरेको छानविनमा देखिएको अख्तियारले जनाएको छ । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बर्मा र प्रशासकीय अधिकृत यादवले जिल्ला फुटबल मैदान निर्माण योजनाको कार्य सम्पन्न भए पश्चात योजनाको अनुगमन गरी योजना अनुरुप कार्य भए÷नभएको यकिन गरी प्रतिवेदन पेश गर्न‘पर्नेमा काम पूरा नगरी योजना सम्पन्न भएको गलत प्रतिवेदन दिएको थियो ।
फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवले शम्भुनाथ नगरपालिकास्थित फुटबल मैदान निर्माण योजनामा माटो पुर्ने काम सम्पन्न गरको झुठ्ठा बिल भरपाई पेश गरी सरकारलाई हानी र आफूलाई लाभ हुने गरी बढी भुक्तानी लिएको पनि अख्तियारको दावी छ । चारै जनालाई विगो २ लाख ७५ हजार ६२३ नै कामय गरिएको छ । यस अघि राजविराज नगरपालिका नगरभित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्न छुट् याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सब–इन्जिनियर सत्यजीब कुमार सिंहसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ ।
सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना भएको भन्ने उजूरीको आधारमा अख्तियारले राजविराज नगरपालिका, नगर कार्यपालिकाका सबइन्जिनियर सिंह, तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल राजविराजका अध्यक्ष घनश्याम झा र सेभ द नेपाल राजविराजका कोषाध्यक्ष ललितनारायण झासमेतको मिलोमतो र संलग्नतामा वृक्षारोपणको रकम हिनामिना गरेकोले कसुरमा उनीहरूविरुद्ध सजायको मागदाबी गरको छ । सिंहले वृक्षारोपण कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्ड बमोजिम नभएकोलाई भएको भनी भुक्तानीको लागि सिफारिस गर्ने सब–इन्जिनियर सिंहविरुद्ध १७ लाख ७५ हजार बिगो कायम गरिएको छ ।
तपाईको प्रतिक्रिया !!