अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको एक पालिकाका मेयर र ईन्जिनीयरमाथि मुद्दा दायर गरेको छ ।
मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र ईन्जिनीयर रामचन्द्र साहमाथि मुद्दा दायर भएको हो । दुवै जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।
गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ ।
जनप्रतिनीधि वा कर्मचारीमाथि भ्रष्टाचार आरोपसहितको मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने नियम रहेको छ । विशेष अदालतबाट सफाई नपाएसम्म दुवै जना निलम्बनमा रहनेछ । उनीहरु कुनै सरकारी कार्य गर्न पाउने छैनन् ।
तपाईको प्रतिक्रिया !!