जनकपुरधाम फाल्गुन १५ सोमबार
मिथिलाञ्चलको महामहाकुम्भ मानिएको ऐतिहासिक तथा धार्मिक पदयात्रा १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन पुगेको छ । महोत्तरीको ध्रुवकुण्डबाट विहानै प्रस्थान गरेको परिक्रमा यात्रीहरु भगवान राम र माता सीताको डोला सहित महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन पुगेको छ । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गरेको नगरप्रमुख संजिव साहले बताउनुभयो । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ । रंग, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले जानकारी दिनुभयो । कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ ।
आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने गर्दछन् । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्री विश्राम गर्ने गर्दछन् । रात्रीको विश्रामपछि परिक्रमा यात्रीहरु भोली धनुषाको क्षीरेश्वरनाथ मन्दिर दर्शन गर्दै पर्वता पुग्ने छन् । पर्वतामा रात्री विश्राम गरेपछि बुधवार विहानै धनुषाधाम प्रस्थान गर्नेछ ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन अन्तगृह परिक्रमासँगै सम्पन्न गरिने परम्परा छ ।
तपाईको प्रतिक्रिया !!