काठमाडौँ — अभिषेक बायुङ त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएस्सी सीएसआईटी दोस्रो सेमेस्टरका विद्यार्थी हुन् । परीक्षा दिनुपर्ने बेला उनी भने विदेशी विश्वविद्यालयको कोर्स पढ्ने तयारीमा छन् । पुरानो विश्वविद्यालय भएकाले यसैमा सीएसआईटी पढ्न भर्ना भए पनि त्रिविको तालिका देखेर दिक्दार लागेको उनले बताए ।
‘पहिलो सेमेस्टरको जाँच पनि राम्ररी दिइयो । तर, दोस्रो सेमेस्टर पढ्दै गर्दा अहिलेसम्म ब्याचरल भर्ना भएको रजिस्ट्रेसन नम्बर पाएको छैन,’ बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा भेटिएका उनले भने, ‘सोचेजस्तो पढाइ नहुने र रिजल्ट पनि ढिलो आउने रहेछ । त्यसैले यो छोडेर विदेशी कोर्सको तयारीमा छु ।’
बायुङले राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ पास गरेपछि प्राप्त माइग्रेसन सर्टिफिकेट सीएसआईटी भर्ना हुँदा कलेजमा बुझाएका थिए । कलेजले रजिस्ट्रेसनका निम्ति सो सर्टिफिकेट त्रिविमा पठाएको बताएपछि उनी नियन्त्रण कार्यालय धाइरहेका छन् । कार्यालयले सर्टिफिकेट फिर्ता नहुने र रजिस्ट्रेसन नम्बर कलेजमै उपलब्ध हुने जवाफ दिएको उनले बताए ।
विज्ञान विषय कक्षा १२ मा ‘ए’ ग्रेड हासिल गरेका शिशिर राई पनि अध्ययनका लागि विदेश जाने तयारीमा छन् । ‘नेपालको युनिभर्सिटीमा आउट डेटेड कोर्स पढाउँछन्,’ उनी भन्छन्, ‘कोर्सहरू थ्योरीमा आधारित हुन्छन्, प्राक्टिकल छैन । इन्टर्न गर्न समस्या छ । रिजल्ट ढिलो हुन्छ । पढेपछि काम पाइँदैन । त्यसैले विदेश जान चाहेको हो ।’
विद्यार्थीको पीडाबोध गराउने यी उदाहरण मात्र हुन् । त्रिविको शैक्षिक क्यालेन्डर भद्रगोल हुँदा सयौं विद्यार्थी दुःख झेलिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले तालिकाअनुसार वैशाखमा कक्षा १२ को परीक्षा लिन्छ, असार अन्तिममा नतिजा प्रकाशन गर्छ । त्यसपछि साउन–भदौमा क्याम्पस भर्ना भएर असोजदेखि धमाधम पठनपाठन हुनुपर्ने हो । तर त्रिभुवनलगायत अरू विश्वविद्यालयले दुई महिनाभन्दा बढी समयपछि मात्र स्नातक तहमा विद्यार्थी भर्ना खुलाउँछन् । आर्थिक हैसियतका विद्यार्थी प्राइभेट कलेजमा भर्ना हुन्छन् । न्यून आर्थिक हैसियत भएकाले त्रिविका आंगिक क्याम्पसको भर्ना कुर्छन् । आंगिक क्याम्पसले सेमेस्टर प्रणालीलाई केही प्राथमिकता दिन्छन् भने वार्षिक प्रणाली सुस्त प्राथमिकता राखेर भर्ना लिन्छन् । जसका कारण विद्यार्थीको धैर्य टुट्ने गरेको छ । स्वदेशमा पढ्दा ढिलासुस्ती र बेरोजगारी हुने भएकाले विदेशी कोर्स या विदेशकै विश्वविद्यालय रोज्ने गरेका छन् ।
देशभर ११ केन्द्रीय विश्वविद्यालय, प्रादेशिक विश्वविद्यालय र डिम्ड युनिभर्सिटी ९मानित विश्वविद्यालय० सहित २२ वटा विश्वविद्यालय छन् । अधिकांश विद्यार्थीको रोजाइ त्रिवि नै हो । तर, मुलुकको जेठो त्रिविले आफ्नो शैक्षिक क्यालेन्डर चुस्तदुरुस्त राख्न नसक्दा स्नातक पढ्न युवाहरू विदेशिने गरेको विज्ञको मत छ ।
डिन र नियन्त्रण कार्यालयबीचको आपसी अविश्वास र द्वन्द्वको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छ । यी दुई कार्यालयबीचको द्वन्द्वले परीक्षाफल प्रकाशन ढिलो हुने गरेको छ । तर, परीक्षा नियन्त्रण कार्यालय भने परीक्षाफल प्रकाशन ढिलाइ हुनुमा कोभिडको कारण र दक्ष जनशक्तिको कमी रहेको दाबी गर्छ । तीन महिनाभित्र हुनुपर्ने नतिजा प्रकाशन डेढ वर्षभन्दा बढी समयसम्म पनि प्रकाशन गर्न सकेको छैन । त्रिविका ६२ आंगिक र १ हजार ६२ सम्बन्धनका क्याम्पस छन् । विश्वविद्यालय अनुदान आयोगको रेकर्डमा त्रिविमा ४ लाख ३६ हजार जति विद्यार्थी पढ्छन् । स्नातकोत्तर तहका सबै कार्यक्रम र स्नातकका सीमित कार्यक्रम सेमेस्टर प्रणालीमा छन् । सेमेस्टर प्रणालीको भर्ना, पठनपाठन र नतिजा प्रकाशन सबै डिन कार्यालयअन्तर्गत सञ्चालन हुन्छ । सेमेस्टर प्रणालीमा विद्यार्थी शुल्क महँगो छ, जुन डिन कार्यालयले असुल्छ । त्यसको नतिजा प्रकाशनपछि परीक्षा नियन्त्रण कार्यालयले सर्टिफिकेट मात्र बाँड्छ ।
स्नातक तह वार्षिक प्रणालीको विद्यार्थी भर्ना, पठनपाठन आंगिक र सम्बन्धनका क्याम्पसले लिन्छन् । नतिजा प्रकाशन कार्य बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गर्छ । डिन कार्यालयले शुल्क लिँदा नियन्त्रण कार्यालयको आयस्रोत घटेको अधिकारी बताउँछन् । ‘डिन कार्यालयले विद्यार्थीबाट एकमुष्ट ठूलो रकम असुल्ने तर वार्षिक प्रणालीमा नियन्त्रण कार्यालयले ज्यादै न्यून रकम पाउने भएपछि आन्तरिक खटपट हुने गरेको देखिन्छ,’ एक प्राध्यापकले भने ।
रेक्टर शिवलाल भुसाल पनि त्रिविको संरचना ठूलो भएकाले एउटै क्यालेन्डर लागू गर्न नसकिएको बताउँछन् । ‘के बुझिदिनुपर्यो भने त्रिभुवन विश्वविद्यालय मल्टिडिसिप्लिनरी हो,’ उनी भन्छन्, ‘मास्टर्सको सेमेस्टर सिस्टम भएकाले सम्बन्धित डिन कार्यालयले आफ्नै क्यालेन्डर बनाउँछ । सामान्य समयचाहिँ हामी निर्धारण गर्छौं, यो महिनादेखि यो महिनासम्म भर्ना, यो समयमा परीक्षा भनेर क्यालेन्डर बनाउँछौं । त्यसको विस्तृत रूपमा डिन कार्यालयले बनाउँछ । त्यसकारण एउटै क्यालेन्डर बनाउन हामीलाई कठिन हुन्छ ।’
इन्जिनियरिङ विषयको भने २०५७ सालदेखि अहिलेसम्म एउटै क्यालेन्डर लागू रहेको रेक्टर भुसालको दाबी छ । ‘रेक्टर अफिसले वार्षिक कार्यक्रम र बल्खु परीक्षा नियन्त्रण कार्यालयले जाँच लिने कार्यक्रमको टेन्टेटिभ क्यालेन्डर बनाउँछ, त्यसअनुसार क्याम्पसहरूले भर्ना, पढाइ सञ्चालन गर्छन्,’ उनले भने, ‘डिन कार्यालयका मास्टर डिग्री कार्यक्रम भर्ना यो समयमा खोल्ने भन्ने सहमतिको क्यालेन्डर बनाइदिन्छौं । त्योबीच उहाँहरूले आफ्नो क्यालेन्डर बनाउनुहुन्छ । त्यसकारण ठूलो विश्वविद्यालय भएकाले यसै दिन भर्ना र यसै दिन परीक्षा भन्न सकिन्न ।’
रेक्टर भुसाल त्रिविमा क्यालेन्डरमा होइन नतिजा प्रकाशनमा समस्या भएको बताउँछन् । सेमेस्टर प्रणालीअनुसार हरेक ६ महिनामा परीक्षा लिने र नयाँ भर्ना लिनुपर्ने हुन्छ । तर, त्रिविले वर्षमा एक पटकमात्र विद्यार्थी भर्ना लिने गरेको छ । एउटा समेस्टरको परीक्षामा सामेल भएका विद्यार्थीले नतिजा प्रकाशन नहुँदै अर्को सेमेस्टर पढ्न दिने र वर्ष दिनमा नतिजा प्रकाशन गर्ने गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड र त्रिविको क्यालेन्डरबीच तालमेल नरहेका कारण समस्या रहेको रेक्टर भुसालको भनाइ छ । ‘बोर्डले गत साल अत्यन्त ढिलो नतिजा प्रकाशित गर्यो । अझ त्रिविको इन्ट्रान्स सकिएपछि मौका परीक्षाको नतिजा सार्वजनिक गर्यो,’ उनले भने, ‘हामीले दोहोर्याएर इन्ट्रान्स लिनुपर्यो । त्यसकारण परीक्षा बोर्डको ढिलाइ हो ।’ त्रिविको नयाँ सत्रमा विद्यार्थी संख्या घट्दो रहेको भुसाल स्विकार्छन् । तर, एक सत्रमा भर्ना घट्दैमा ‘विद्यार्थी घटेको’ भन्न नमिल्ने उनको तर्क छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्मा कोरोना महामारीपछि नियमित तालिकाअनुसार कक्षा १२ को नतिजा प्रकाशित गरेको बताउँछन् । ‘तीन महिनाभित्र नतिजा प्रकाशित गर्ने नीतिअनुसार ८० दिनअगावै नतिजा प्रकाशित गरेका छौं,’ उनले भने, ‘हाम्रो क्यालेन्डर अन्तर्राष्ट्रिय क्यालेन्डरअनुसार छ । कक्षा १२ पास गरेपछि विद्यार्थीले स्वदेश या विदेश जहाँको विश्वविद्यालयमा पढ्नका लागि समयभित्रै सर्टिफिकेट पाएका छन् ।’ कक्षा १२ को नतिजा प्रकाशित गरेलगत्तै सुदूरपश्चिम विश्वविद्यालयले मात्र स्नातक तहको भर्ना लिएको शर्माले बताए । ‘त्रिविलगायत अरू विश्वविद्यालयले दुई महिना ढिलो गरी भर्ना खोल्छन्,’ उनले भने, ‘यदि स्नातकमा विद्यार्थी भर्ना चाँडो गर्ने भएमा विदेशिनु पर्दैनथ्यो । यसतर्फ विश्वविद्यालयहरूको ध्यान पुग्न जरुरी छ ।’ त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक स्वयं राष्ट्रिय परीक्षा बोर्डको सदस्य रहने व्यवस्था छ ।
हरेक वर्ष तीन लाखभन्दा बढी एसईई उत्तीर्ण हुन्छन् । तीमध्ये एक लाखभन्दा बढीले विदेश अध्ययनका लागि एनओसी ९नो अब्जेक्सन लेटर० लिने गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन प्रमाणीकरण शाखाको तथ्यांकअनुसार गत साउनयता पुससम्ममा ४५ हजार ९ सय १२ जनाले एनओसी लिएका छन् । ‘एनओसी लिने विद्यार्थी चाप बढ्दो छ,’ शाखा प्रमुख बासुदेव वस्तीले भने, ‘हरेक बिहान सखारै विद्यार्थीको लाम सुरु हुन्छ, दिनभरि भ्याइनभ्याइ एनओसी दिने गरेका छौं ।’ विदेशमा उच्च शिक्षा आर्जन गर्न एनओसी लिन अनिवार्य छ । गत आर्थिक वर्ष २०७८र७९ मा एक लाख १४ हजारले एनओसी लिएका छन् । विद्यार्थीले भारतलगायत ५९ मुलुकका निम्ति एनओसी लिएका छन् । अस्ट्रेलियाका निम्ति १० हजार ७ सय ९९ जनाले एनओसी लिएका थिए । अमेरिका, जापान, क्यानडा, बेलायत, भारत, यूएई, कोरिया, न्युजिल्यान्डका लागि पनि एनओसी लिएका छन् ।
शिक्षाविद् मनप्रसाद वाग्ले एसईई उत्तीर्णमध्ये विदेशिनेबाहेक एक लाख विद्यार्थीले पढाइ छाड्ने र बाँकी दुई लाख मात्र उच्च शिक्षाका लागि भर्ना हुने बताउँछन् । वाग्लेका अनुसार नेपालको उच्च शिक्षा गुणस्तरीय नहुनु र पढाइ सकेपछि रोजगारी सुनिश्चित नहुनु जस्ता कारणले विद्यार्थीको विदेशिने क्रम बढेको हो ।
त्रिविको शैक्षिक क्यालेन्डर भरपर्दो नहुँदा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा विद्यार्थीको संख्या पनि बर्सेनि बढ्दो छ । शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखा प्रमुख कृष्णप्रसाद काप्रीका अनुसार विदेशी विश्वविद्यालयको सम्बन्धनमा ८७ वटा कलेज सञ्चालनमा छन् । ‘ती कलेजमध्ये झन्डै ३४ वटाले ए लेभल पढाउँछन्,’ काप्रीले भने, ‘सबै कलेजका २२ देखि २५ हजार विद्यार्थी पढ्छन् । यकिन तथ्यांक लिन बाँकी छ, अब अनलाइन ट्र्याकिङ गर्छौं ।’
शिक्षाविद् विद्यानाथ कोइराला पनि त्रिविले विकल्पसहितको क्यालेन्डर लागू नगर्दा शिक्षा अधोगतितर्फ धकेलिएको र विद्यार्थी विदेशिन बाध्य भएको बताउँछन् । ‘विश्वविद्यालयलाई स्वायत्त भन्ने तर हवाईजहाज दुर्घटना भएको दिन विश्वविद्यालय बन्द गराउने दुर्बुद्धिले विद्यार्थीको परीक्षाको शैक्षिक भविष्य अन्योलमा पारेको छ,’ कोइरालाले भने, ‘विद्यार्थीको शिक्षाप्रति संवेदनशील हुन नसक्नु दुर्भाग्य हो । सबैभन्दा त्रिविको ढिलासुस्तीले विद्यार्थीलाई विदेशिन प्रोत्साहित गरेको छ ।’
तपाईको प्रतिक्रिया !!