२६ असार, जनकपुरधाम ।
वर्षको तेस्रो ग्राण्ड्सलाम विम्बलडन ओपनको उपाधिका लागि सर्वियन नोभाक जोकोभिच र अष्ट्रेलियन निक किर्गियोस भिड्दैछन् । ३५ वर्षीय विश्व नम्बर एक खेलाडी जोकोभिच कीर्तिमानी ३२ औं पटक ग्राण्ड्सलाम फाइनल खेल्दैछन् भने २७ वर्षीय किर्गियोसको यो पहिलो ग्राण्ड्सलाम फाइनल हो ।
कीर्तिमानी २२ पटकका ग्राण्डस्लाम विजेता राफायल नाडालले चोटका कारण सेमिफाइनलबाट नाम फिर्ता लिएपछि ४० औं वरियताका किर्गियोस् सिधै फाइनल पुगेका हुन् । जोकोभिचले बेलयाती क्यामरुन नोरीलाई चार सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् । ६ पटक विम्बल्डन जितिसकेका जोकोभिच भने लगातार चौथो पटक उपाधि जित्ने योजनामा छन् । विम्बल्डन उपाधि जित्न सके जोकोभिचले सर्वाधिक ग्राण्ड्सलाम जित्ने सूचीमा नाडालसँगको अन्तर कम गर्नेछन् । जोकोभिचले रोजर फेडेरर समान २० उपाधि जितेका छन् । फाइनल खेल्न लागेका जोकोभिचसँग अनुभव छ भने किर्गियोससँग आक्रमक रुपमा खेल्ने उर्जा छ । २७ वर्षिय किर्गियोसले पहिलो पटक ग्राण्ड्सलाम फाइनलको अनुभव गर्न जाँदैछन् । यसले गर्दा पनि उनी केही नर्भस छन् । ‘म धेरै चिन्तित र नर्भस छु,’ किर्गियोसले बीबीसी स्पोर्टससँग भने, ‘यो त्यस्तो चीज हो जुन मैले पहिले कहिल्यै गर्ने मौका पाएको छैन, स्ल्याम फाइनलमा खेल्ने । उनले सर्वोच्च अवार्डका लागि खेल्ने मौका रहेको र टेनिसमा अमर बन्ने अवसर रहेको बताएका छन् । ‘मेरो करियरमा धेरै फाइनल खेलेँ । तर विश्वकै ठूलो प्रतियोगिता, विम्बल्डनमा पहिलो पटक हो,’ उनले भने, ‘न्युयोर्क टाइम्सले यस फाइनललाई दुई भिलेनबीचको फाइनल समेत भनेको छ । जसले मलाई रातभर अनिदो राख्यो । यस्तै जोकोभिचले फाइनलमा धेरै आतिशबाजी हुने बताए । ‘भावनात्मक रूपमा धेरै आतिशबाजी हुन गइरहेको छ’, जोकोभिचले भने । यसअघि यी दुईबीच भएको दुई खेलमा किर्गियोसले जोकोभिचलाई हराएका थिए । विम्बल्डनमा भने जोकोभिच फेभरेट छन् ।
तपाईको प्रतिक्रिया !!