टुडे एक्सप्रेस/जनकपुरधाम
करिव ५ दिन अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा टिकट नपाएपछि पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
मनोनयन दर्ताको पूर्वसन्ध्यामा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा शिवशंकर साह (हिरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
जानकीरामसंगै उनको प्यानलबाट उपमेयरमा सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित साहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै ५ दिन अघि मात्र एमालेमा प्रवेश गरेका थिए ।
साहले टिकट पाउने लोभमा एमाले प्रवेश गरेका थिए । तर, अन्तोगत्वा एमालेको सचिवालय बैठकले आइतबार मध्यराति आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि लोसपा परित्याग गरी जानकीराम एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो । तर, अन्तोगत्वा हिराले नै बाजि मारे ।
तपाईको प्रतिक्रिया !!