धर्मेन्द्र पासवान/लहान
स्थानीय तह २०७४ को चुनावमा नेता पञ्चलाल महतोले नेपाली कांग्रेसबाट नगर प्रमुखको टिकट पाएर चुनाव लडे तर जितेनन् । झिनो मतले मात्र पराजित भएका नेता महतोले अन्तिम समयमा टिकटको टुंगो लाग्नु नै ठूलो चुनौती रहेको बताए ।
सिरहाको धनगढीमाई नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखको प्रत्यासी उम्मेदवार बनिसकेका नेता महतो पराजित भएपनि निर्वाचित नगर प्रमुखलाई कडा टक्कर दिएका थिए । निर्वाचित नगर प्रमुखले ५ हजार १ सय मत ल्याएका थिए भने नेता महतोले ४ हजार ५ सय ल्याएर निर्वाचित नगर प्रमुखको बाटोलाई अप्ठ्यारोमा पारी दिएका थिए ।
पहिलो चुनावको अनुभव सुनाउँदै नेता महतो भन्छन्, ‘नेतृत्व कसको हातमा दिने ? कसले चलाउने ? भन्दा पनि केन्द्रको अगाडि पछाडि को हुने गर्छ ? नेताको अगाडि पछाडि को छ ? जो क्षमतावान हुन्छ त्यसले टिकट पाउनु पर्ने कुरामा विवाद हुँदै अन्तिममा टिकटको टुंगो लाग्छ । त्यति खेर के हुन्छ भने राजनीति गर्ने कुनै पनि पार्टीमा लागेका साथीहरूलाई लागेको हुन्छ कि कुनै न कुनै पदमा जाउँ भन्ने सबैले चाहेको हुन्छ । तर पद सिमित हुन्छ, तोकिएको हुन्छ ।’
उनका अनुसार धनगढीमाई नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखको उम्मेदवारको महत्वाकांक्षी महतोसहित ६ जना थिए । ती मध्ये महतोले टिकट पाए । तत्पश्चात आफु चुनावमा होमिए पनि नेपाली कांग्रेसको केन्द्रिय नेतृत्व र स्वयम आफुले पनि बाँकी ५ जना साथीहरुलाई सन्तुष्ट गर्न नसकेको कारणले पनि ठुलो समस्या भोग्नु परेको उनले बताए ।
नेता महतो अगाडि थप्छन,‘जुन–जुन साथीहरुले टिकट प्राप्त गर्न सकेनन् तिनीहरू मौन बसेर टिकट पाउने साथीहरूलाई समस्या भयो । र हाम्रो आफ्नो कमजोरीले सबै साथीहरूको चित्त बुझाउन सकेनौं । यहि हाम्रो गल्ती भयो । यदि यस्तो समस्या नभएको भए जो साथीहरु मौन भए तिनीहरू हामीसंगै हुन्थे । एक जना वडा अध्यक्षमा निर्वाचित हुँदा पनि ९ नं वडासम्मको मत गणनामा कडा टक्कर दिएको थिए ।’
स्थानीय तहको चुनाव नजिकिएकोले अबको धारणा रणनीति फरक गर्ने नेता महतोले बताए । ‘पहिले पार्टी संगठन बचाउनु पर्छ, तब मात्र नेतृत्वको कुरा आउँछ । पार्टी नै नरहे नेतृत्व के गर्ने ? नामको लागि नेतृत्व लिएर पार्टी नै धारासायी नहोस्’ भनेका छन् । उनले केन्द्रिय र जिल्ला गत चुनावी घोषणापत्र भन्दा पनि व्यक्तिगत चुनावी घोषणापत्र पनि बनाएका थिए । जसलाई कसै–कसैले अहिलेसम्म पनि फोटो फ्रेममा सजाएर राखेको नेता महतोले जिकिर गरे ।
‘निर्वाचित नगर प्रमुखको ४ वर्ष हेरिसकेँ । यो भन्दा पनि राम्रो योजनाको साथ आगामी चुनावी मैदानमा उत्रने छु । र यो पनि छैन कि टिकट लिएर चुनावै लड्नु पर्छ । किनभने हामी भन्दा पनि ठुलो हाम्रो पार्टी रहेको छ, हाम्रो नेतृत्व रहेको छ । मलाई अझैसम्म यो लागेको छ कि पार्टीको नेतृत्व वर्गले मलाई उच्च सम्मान गर्ने नै छ, यदि फेरि पनि मौका पाए भने मैले यहाँको जनताको मुभमेन्ट देखेको छु कि अबको आउँदो चुनावमा राम्रो नतिजा आउन सक्छ र नेपाली काँग्रेसले धनगढीमाई नगरपालिकाको नेतृत्व गर्छ ।’
तपाईको प्रतिक्रिया !!