सर्लाही: जनगणना २०७८ का लागि सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले २०७८ सालमा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने निर्णय अनुसार उक्त कार्यालय खोलिएको केन्द्रीय तथ्यांक विभागबाट सर्लाही जिल्लाका लागि खटाइएका जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए ।
यस्तै, आगामी वैशाख १ गतेबाट सञ्चालन हुने गरी मलंगवा, कविलासी, गोडैता, ईश्वरपुर, लालबन्दी र बरहथवामा स्थानीय जनगणना कार्यालय खोलिने जिल्ला जनगणना अधिकारी पोखरेलले जानकारी दिए । पोखरेलले कार्यालयसँग सीमित बजेट र सीमित कर्मचारी भएकाले यहीँका स्थानीय तहहरूसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताएका छन्। जनगणनाका लागि सुपरीवेक्षक र गणकहरू करारमा नियुक्त गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाईन विज्ञापन गरेकोे छ ।
इन्टरनेटको सुविधा नभएकाहरूले सदरमुकाम मलंगवामा खुलेको जिल्ला जनगणना कार्यालयमै आएर पनि आवेदन दिन सकिने जिल्ला जनगणना अधिकारी पोखरेलले जनाएका छन । नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुन्छ । सोही अनुसार २०७८ सालमा हुन लागेको जनगणना अन्तर्गत सुपरीवेक्षकहरूले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकहरूले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्ने पोखरलेले बताए । २०६८ को जनगणना अनुसार सर्लाही जिल्लामा प्रदेश २ मै सबैभन्दा बढी जनसंख्या रहेको छ ।
तपाईको प्रतिक्रिया !!