सम्पादकीय
कुनै पनि गाउँ सहर हुन स्वास्थ्य, शिक्षा, रोजगारी, यातायात लगायतका सबै विकासका पूर्वाधार उपलब्ध हुनु पर्छ । धनुषाको जनकपुरधामले यो पूर्वाधार धेरै वर्ष अघि नै पूरा गरि सकेको छ । नगरपालिका हुँदै जनकपुरधाम अहिले संघीयता पश्चात उपमहानगरपालिका भएको हो । जनकपुर प्रदेश २ को यस्तो सौभाग्यशाली उपमहानगरपालिका भयो कि जस्ले प्रदेशकै अस्थायी राजधानी पाएको छ । उपमहानगरमा प्रदेश सरकारका कार्यालयहरु बसेका छन् । मन्त्रीहरु र यसका कर्मचारीहरु पनि पावन मिथिलाभूमि जनकपुरधाममै बस्छन् । तर जनकपुरधाम यो विशाल सहरको अवस्था हेर्दा यहाँ कुनै जनप्रतिनिधी नै छैनन्, यहाँ उपमहानगरपालिकाको कार्यालय नै छैन, यसका कर्मचारीहरु नै छैनन् कि जस्तो लाग्छ । किनकी यहाँका हरेक सडक, बजार, चोकमा फोहोरका चाङ लागेको छ । सडकहरु धुलाम्मे छन् । घुम्न र फ्रेस हुन सुन्दर पार्कहरु छैनन् । जनकपुरधाममा पाईला पाईलामा फोहोर टेक्नु पर्ने अवस्था छ । त्यति मात्रै हैन सडकमा जताततै छाडा पशुचौपाया छोडिएका छन् । कति जनावरहरु मरेर सडकभरी बजारभरी दुर्गन्ध पुग्दा समेत बरु नाक थुनेर हिड्न सकेका छन्, तर त्यस्तो समस्या समाधानका लागि पहल गर्न कोही पनि तम्सिएका देखिँदैनन् । यहाँका संचारमाध्यमहरुले जनताको समस्या देख्दैन, बजारको अस्तव्यस्तता हेदैन । केवल नेताको गुनगान गर्नुमै यहाँका संचारमाध्यम र संचारकर्मीहरु तल्लीन भएको जो कोहीले पनि ठोकुवा गरेर भन्न सक्छन् ।
उपमहानगरपालिका निवासी जनकपुरधाम निवासी नागरिकले नमिठो दुर्गन्ध मौन खेपी रहेका छन् । सडकहरुबाट उड्ने धुलो खानापानी सँगै खाई रहेका छन् । उनीहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असरका बारेमा सोचिदिने कोही भएनन् । यतिका अस्तव्यस्त हुँदा सम्म यहाँका नागरिक किन मौन बसेका होलान् । किन बोल्दैनन् यो अस्तव्यस्ताको विरुद्ध । धार्मिक ऐतिहासिक नगरीको नामले प्रख्यात जनकपुरधाम अहिले फोहोरै फोहोरको डङ्गुरले भरिएको कुरुप सहर भई सक्दा पनि यहाँका नागरीक मौन बस्नाले, उनीहरुले जनप्रतिनिधी र सम्बन्धित निकायलाई झक्झक्याउन समेत नसक्नाले यो सहरमा मान्छे नै छैनन् कि भन्ने पनि भान हुँदो रहेछ । हैन भने सडकभरी थुप्रिएको फोहोर हेरेर बस्न सक्दैनथे । सडकमा उड्ने धुलो खानापानीसँगै खान सक्दैनथे । उनीहरुलाई यो सहरको माया थियो भने किन सहरको सुरक्षामा, सहरको विकासमा चासो देखाउँदैनन् । कतै जनप्रतिनिधीको दबाब त छैन जनकपुरवासीलाई ? जनप्रतिनिधीले जे गरे पनि नगरे पनि मौन वस्ने नगरवासी मान्छे हुन् कि पशु ? देउता हुन् या मूर्ति छुट्याउनै पो मुस्किल भई रहेछ ।
प्रदेश २ कै ईज्जत र प्रतिष्ठासँग जोडिएको जनकपुरधामले विकासमा ठुलो फड्को मार्नु पर्छ । स्थानीय तहको निर्वाचन भएको तीन पुगेर चार वर्ष लागिसक्यो तर जनप्रतिनिधीले देखिने गरि केही पनि विकास गर्न सकेका छैनन् । अब जनप्रतिनिधीले पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनकपुरधामवासीलाई जनप्रतिनिधी छन् भन्ने आभास दिलाउनु पर्छ । त्यसका लागि जनप्रतिनिधीले सर्वप्रथम गर्ने भनेको उपमहानगरको फोहोर व्यवस्थापन नै हो । फोहोर व्यवस्थापन विना जति नै ठुलो योजना सम्पन्न गरे पनि जनकपुरवासीलाई त्यो थोरै हुन्छ । फोहोर व्यवस्थापन पछि यहाँका सडकमा छाडा छोडिएका पशुचौपायको व्यवस्थापन गर्न जरुरी छ । पशुचौपायका कारण हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर पनि यो कामलाई प्राथमिकताका साथ उपमहानगरपालिका र यसका जनप्रतिनिधीहरुले गर्न जरुरी देखिन्छ । त्यसपछि यहाँका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्नु जरुरी छ । बजार अनुगमन गर्न जरुरी छ । क्रमश ः जनकपुरधामवासीको गुम्न लागेको साख पुनः फर्काउन जरुरी छ ।
तपाईको प्रतिक्रिया !!