धर्मेन्द्र पासवान, सिरहा : सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल नेतृत्वको टोलीले बुधवार अनुगमन गरेका छन् ।
विचौलियाले अतिरिक्त रकम लिएर सेवाग्राही ठग्ने गरेको गुनासोपछि प्रजिअ कणेलले यातायात कार्यालयको अनुगमन गरेका हुन् । सो टोलीले दुई बिचौलियालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ । उनीहरुको नाम र ठेगाना सार्वजनिक गरिएको छैन ।
काम सहज रुपले गराइदिन्छु भनेर सेवाग्राहीबाट रकम असुलेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको प्रजिअ कणेलले जानकारी दिए । सेवा प्रवाहलाई नियमन गर्ने हिसाबले सोधपुछ गर्दा सेवाग्राहीबाट लेखापढी गरिदिए बापत महँगो शुल्क लिएको, दररेट नराखेको र सेवाग्राहीबाट लिएको शुल्कको रसिद नदिइएकोले सोधपुछको लागि उनी दुबै जनालाई नियन्त्रणमा लिएको उनको भनाई छ ।
प्रजिअ कणेले नेतृत्वको टोली कार्यालय नजिक पुग्नेवित्तिकै बिचौलियाहरुको भागाभाग भएको थियो । सबभन्दा बढी विचौलिया बस्ने कार्यालय नै यातायात हो । यहाँ सेवाग्राही पुग्नेवित्तिकै म काम गराइदिन्छु भन्नेहरुको भीड लाग्छ । कार्यालयकै कर्मचारीहरु पनि विचौलियाले सहयोग गर्ने गरेको सेवाग्राहीको आरोप छ ।
सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले कार्यालयको सुरक्षा अवस्था बुझ्न अनुगमन गरेको बताए । उनले भने, ‘कार्यालयमा गलत काम नहोस् भन्ने सन्देश दिन पनि विचौलिया रहेको आशंकामा दुई जनालाई समातेका छौं ।’
चारदिन अगाडी लहानको मालपोत कार्यालयमा भएको बम विस्फोटका कारण प्रजिअ कणेलले सुरक्षा अधिकारी लिएर अन्य कार्यालयहरुको पनि अनुगमन गरी सुरक्षा व्यवस्था कडा पारिने बताइएको छ । बुधवार सो टोलीले बम विस्फोटपछि ठप्प भएको मालपोत कार्यालय पुगेर पनि स्थलगत अनुगमन गरेका थिए ।
तपाईको प्रतिक्रिया !!