
महोत्तरी सुतेकै अवस्थाबाट वेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका ५ का बृद्ध दम्पतीको खोजी गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सिबिआई)को टोली खटिएको छ । आफ्नै घरमा सुतेका ६६ बर्षीय मुसाफीर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवीलाई अज्ञात समूहले फागुन १० गते राति अपहरण गरेको स्थानीय बताउँछन्। झा दम्पति अपहरणमा परेको थाहा पाएपछि पुगेको प्रहरी टोलीले घटनास्थलमा रगतको छिटा समेत देखेका थिए ।
लामो समयसम्म प्रहरीले अनुसन्धान गरेपनि झा दम्पतिको कुनै अत्तोपतो छैन । प्रहरीको अनुसन्धान फितलो भएको भन्दै स्थानीय आन्दोलित बनेपछि सिबिआईको टोलीले अनुसन्धान शुरु गरेको छ । सिबिआईकी प्रवक्ता गंगा पन्तले महोत्तरी पुगेर टोली काम सुरु गरिसकेको जानकारी दिइन्। ‘अहिले अनुसन्धान शुरु भएको छ । बाँकी कुरा अनुसन्धानपछि भन्छौं,’ उनले टुडे एक्सप्रेससंग भनिन्। अपहरित मुसाफीर झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन्। उनी आफ्ना श्रीमती, बुहारी र नातिनातिनासँगै घरमा बस्दै आएका थिए ।
लोहारपट्टी नगरपालिकाको मोही जग्गामा उनले साक्षी बसेका थिए । साक्षी बसेकै कारण जग्गाबाला पक्षले झा दम्पतीको अपहरण गरेको हुनसक्ने आशंका गरिएपनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । झा दम्पतीको हत्या गररे पोखरीमा फालेको हुनसक्ने प्रहरीको अनुमान थियो। तर धनुषा र महोत्तरीका ४० भन्दा बढी पोखरीमा सर्च गर्दा पनि फेला परने । घटनामा संलग्न रहेको आशंमा दर्जनौं व्यक्तिलाई प्रहरीले सोधपुछ गरिसकेको छ । अहिले पनि प्रहरीले चार जन नालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !!