
महोत्तरी : चुरेको ढुंगामाटो चुरेलाई, सफा र पर्याप्त पातपानी र हरियाली सबैलाई भन्ने मूल नाराका साथ मंगलवार देखि महोत्तरीको बर्दिवासमा चुरे सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । अर्थ जर्नालिज्म नेटवर्क र ईन्टरन्यूजसँगको सहकार्यमा डिविआई एकुअल एक्सेसले महोत्तरीको बर्दिवास स्थित गुञ्जन होटलमा तालिमको आयोजना गरेको हो । तालिममा प्रदेश २ का ९ ओटा रेडियोका रेडियो कर्मी तथा पत्रकारहरूको सहभागिता रहेको छ ।
तराईको लाईफलाईन मानिएको चुरे दिनानु दिन विनास हुँदा त्यसले समग्र चुरे र तराईको जनजीवनलाई नै असर गरेको छ । चुरे संरक्षणमा नागरिक र सरकारलाई समेत जिम्मेवार बनाउनमा रेडियोहरूले सशक्त भूमिका खेल्न सक्ने भएकोले उनीहरूको लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको एकुअल एक्सेसकी सरिता ज्ञवालीले बताईन् । उनका अनुसार एकुअल एक्सेसले तराईका तीन जिल्ला सर्लाही, महोत्तरी र धनुषाका ९ ओटा रेडियो हरूबाट चुरे र जीवन रेडियो कार्यक्रम संचालन गरि रहेको छ ।
चुरे संरक्षणमा रेडियो कार्यक्रम प्रभावकारी हुने भएकोले रेडियो कार्यक्रम मार्फत नागरिकलाई चुरे संरक्षणका विषयमा सुसुचित गराउन सुरु गरिएको हो । तालिमको पहिलो दिन मंगलवार राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमका बोर्ड मेम्बर विजय सिंह(पिएचडी), अर्थ जर्नालिजम नेटवर्कका रमेश भुसा, चुरे सम्बन्धी विज्ञ नागदेव यादवले चुरे र जीवन सँग सम्बन्धि अवधारणा प्रस्तुत गरेका थिए । बुधवार समापन हुने तालिम अन्तर्गत सहभागिहरूलाई साईड भिजिट समेत गराईने आयोजकले बताएको छ ।
तपाईको प्रतिक्रिया !!