
महेशकुमार दास । महोत्तरी : २३ दिन देखि वेपता महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका झा दम्पतीको खोजिको माग गर्दै स्थानीयले जलेश्वरमा चक्काजाम सहित स्थानीय प्रशासन विरुद्ध प्रर्दशन गरेका छन् । जलेश्वरका स्थानीयले मंगलबार विहान १० वजे देखि जलेश्वर नगरपालिकाको मुलगेट अगाडी रहेको चौबाटो सडकमा झा दम्पतीलाई न्याय दे , स्थानीय प्रशासन मुर्दावाद जस्ता चर्को नाराबाजी गर्दै हातमा हात जोडी चक्काजाम सहित विरोध प्रर्दशन गरेका हुन् । चक्काजाम र विरोध प्रर्दशनका कारण नगरक्षेत्र भित्रको ट्राफिक व्यवस्था केहिबेर अस्तव्यस्त भएको थियो ।
कार्यालय समयमै चक्काजाम गरिएकोले सडकमै सवारी साधनको ताँति लागेको थियो भने कार्यालय हिडेका कर्मचारी, विद्यालय हिडेका विद्यार्थीहरूले सास्ती खेप्नु परेको थियो । पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी फागुन १० गतेदेखि बेपता छन् । तर प्रहरीले अहिले सम्म उनीहरूको शास र लाश केहि फेला पार्न नसकेको भन्दै स्वतःस्फुर्तरुपमा स्थानीयले विरोध जनाएका हुन् । प्रहरीले झा दम्पतीको खोजि भइ रहेको भन्नु बाहेक केहि गर्न नसकेको भन्दै स्थानीय प्रहरी प्रशासन प्रति नै आक्रोशित भएका छन्। झा दम्पतीलाई खोजि गर्नुका साथै घटनामा संलग्न दोषिलाई कारवाही गर्नु पर्ने माग राख्दै विभिन्न संघसंस्थाको अगुवाईमा जिल्ला प्रशासनमा धर्ना , पिपरामा चक्काजाम लगायतका विरोध प्रर्दशन गरे पनि अहिले सम्म प्रहरीको हातमा कुनै सुराक नलाग्नु प्रहरी प्रशासनको अकर्मन्यता रहेको स्थानीय संजित पाठकको आरोप छ ।
यता प्रहरीले उनीहरूको खोजीमा ५० भन्दा बढी पोखरीमा खोजतलास गरिए पनि कुनै सुराक फेला नपरको े बताएको छ । प्रहरी र पीडित परिवारले खोजी गरेको २३ दिन भइसक्दा पनि उनीहरूको अवस्था अज्ञात छ । झा दम्पतीलाई खोज्न शंका गरिएका ५० वटाभन्दा बढी पोखरीमा तलास गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ । सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा पनि खोजी जारी छ । प्राविधिक टोलीबाट समेत अनुन्धान जारी रहेको प्रहरीको भनाई छ । ‘व्यक्तिगत, पारिवारिक र आर्थिक हरेक कोणबाट घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।’ चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ ।
नियन्त्रणमा रहेका व्यक्तिको बयान र तथ्य केलाउँदा घटनाको कारण यकिन भइ नसकेकोले झा दम्पतीको अवस्था पत्तो लाग्नेबित्तिकै सब कुरा प्रस्ट हने दावी प्रहरीको रहेको छ । गीतादेवी सुतेको खाट र भुइँमा रगतका छिटा र पक्राउ परेका एक व्यक्तिको घरमा भेटिएको रगतको छिटाको समेत प्राविधिक परीक्षण गराउने काम प्रहरीले गरेको छ । घटनास्थल सिल गरेर प्रहरीले निगरानीमा राखेको छ । मालपोत कार्यालयमा ४० वर्ष काम गरेका मुसाफिरले १० वर्षअघि अवकाश पाएका थिए । भूमि व्यवस्था कार्यालय जलेश्वरमा मोहियानी हकसम्बन्धी एउटा जग्गाको मुद्दामा छिमेकी गाउँका एक व्यक्तिको पक्षमा मुसाफिरले वकालत गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !!