
सन्तोष यादव । जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ का साँसद नरेश यादवले प्रदेशसभा विघटन गर्न माग गरेका छन् । उनले विगत ६ महिनादेखि प्रदेशसभा बैठक नबसेको भन्दै विघटन गर्नुपर्ने बताएका हुन् । ‘सभामुख र सरकारको निस्कृयताले प्रदेशसभा बैठक संचालन गर्न सकेका छैन’, साँसद यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रदेशसभा औचित्य विहिन बनेको छ । त्यसैले ताजा जनादेशका लागि सम्बन्धित पक्षले अग्रसरता देखाउने अवस्था आइसकेको छ ।’ उनले प्रदेशसभाको कुनै काम नै नरहेको हुँदा किन जनताको करबाट सेबा सुविधा लिने भन्ने प्रश्न पनि गरेका छन् ।
उनले प्रदेश सरकार जनताको करबाट पाइरहेको सेवा सुविधामा रमाइरहेको टिप्पणी गरेका छन् । प्रदेशसभा विघटन गरी नयाँ जनादेशका लागि जानुपर्ने चर्चा जनमानसमा पनि भइरहेको उनको भनाई छ । अहिले प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्व गरिरहेको छ । तत्कालिन राजपा र समाजवादी पार्टी एकिकरण पश्चात बनेको जसपाको संसदीय दलका नेता चयन नहुँदा प्रदेशसभा बन्धक बनेको छ । पार्टीभित्र आन्तरिक किलोका कारण संसदीय दलका नेता चयन हुन नसकेको जसपाका साँसदहरू स्वयंम स्वीकार्छन्। जसपा नेतृत्वले संसदीय दलका नेता चयन गर्न तीन सदस्य समिति बनाएको थियो। तर विधान बनाउनमै समितिभित्र विवाद चर्कियो।
साँसद मनिष सुमनले एकलौटी ढंगबाट विधान बनाएर मुख्यमन्त्रीलाई बुझाए । सो कारणले पनि संसदीय दलका नेता चयन प्रक्रिया अगाडी बढ्न नसकेको एक नेताले बताए । लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसकेपछि काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन–पत्र बुझाएरै बैठक डाक्नलगायतका माग गरेका थिए । तर मुख्यमन्त्री राउतले हालसम्म चासो देखाएका छैन । प्रदेशसभाको पछिल्लो बैठक ०७७ कार्तिक ३ मा बसेको थियो ।
तपाईको प्रतिक्रिया !!