विनय कर्ण । सप्तरी । पत्रकारले आचार संहिता भित्र रहेर पत्रकारिता गर जो े खिम कम हुने एक कार्यक्रममा वक्ताहरूले बताएका छन्। नेपाल पत्रकार महासंघ मधेश समितिले राजविराजमा आईतवार आयोजना गरेको “जिम्मेवार तथा उत्तरदायी पत्रकारिता” तथा “सुरक्षित र व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका” विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै वक्ताहरूले पत्रकारले आचार संहिता पालन नगरी पत्रकारिता गरेकै कारण पेशागत असुरक्षा बढेको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षित र मर्यादित पत्रकारिताका लागि आचार संहिता पालना गर्नुपर्नेमा जोड दिए । उनीहरूले अहिले सम्म पनि श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउन नसकेको प्रति चिन्ता व्यक्त गरे। ‘पत्रकारिता जब सम्म जीवनयापनको माध्यम बन्न सक्दैन तब सम्म स्वस्थ पत्रकारिता गर्न सकिँदैन ।
त्यसैले पत्रकारिता पेशामा लागेकाहरूको जीवन धान्न सकिने पारिश्रमिकको व्यवस्था होस् अनि मात्रै व्यवसायिक रुपमा पत्रकारिता अगाडी बढ्छ’ सहभागी पत्रकारहरूले भने। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र पत्रकारको हक हितको रक्षा नै पत्रकार महासंघको पहिलो लक्ष्य भएको बताएका छन्। उनले प्रदेश नम्बर २ को सरकारले मिडिया माथि नियन्त्रण राख्न संविधानसँग बाँझिने गरी ल्याएको कानुन प्रति असंतुष्टि व्यक्त गर्दै त्यसलाई संशोधन गर्न माग गरे। ‘मैले प्रदेश नम्बर २ का मुख्यमन्त्रीसँग भेटेर यसबारे कुरा गरेको छु र वहाँले ऐन संशोधन गर्ने भन्नु भएको छ,’ अध्यक्ष आचार्यले भने, ‘संविधानले प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको छ यता प्रदेश सरकारले अंकुश लगाउने काम गरेको छ ।’
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको समन्वयमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथि महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सीलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई लगायतका वक्ताहरूले पत्रकारहरूलाई अनुशासित भएर पत्रकारिता गर्न सुझाव दिए । उनीहरूले आउने दिनमा सञ्चार माध्यम र संचारकर्मीलाई सबल बनाउन काम गर्ने बताए । महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षामा आयोजित कार्यक्रमका पुर्व अध्यक्षहरू बैद्यनाथ झा, मुरली प्रसाद यादव, व्याशशंकर उपाध्याय, धीरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा, झापा शखाका अध्यक्ष तारामणि सापकोटा, सिरहा अध्यक्ष दिनेश्वर गुप्ता, रौतहट अध्यक्ष रविन्द्र साह लगायतकाले सुरक्षित र व्यवसायिक पत्रकारिताबारे धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !!