
मनोज यादव । सर्लाही । मधेशको लाईफलाईन मानिने हुलाकी राजमार्ग निर्माणमा ढिलाई हुँदा नागरिकले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्राईले निर्माण कार्य अलपत्र पर्दा त्यसको प्रत्यक्ष असर भने तराईका नागरिकलाई परेको हो । हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा देखि महोत्तरी जिल्लासँग जोडिने शितलपुर हर्दी खोला सम्मको सडक जिर्ण अवस्थामा छ । यस सडकको निर्माण पूरा नहुँदा यो मार्ग हुँदै यात्रा गर्ने सर्वसाधरण दुर्घटना जोखिममा परेका छन् ।
यात्रा कष्टकर हुने गरेकोे छ । हेमडुण्ङ्ग एण्ड थोकर÷हिरा एण्ड नमिता जे.भि.ले मलंगवा देखि महोत्तरी जिल्लाको सिमाना शितलपुर हर्दी खोलासम्मको १५ किलोमिटर सडकको निर्माणकार्य तीन वर्षमा सम्पन्न गरि सक्ने गरि ठेक्का लिएको थियो । तर ठेक्का लिएको ४ वर्ष भन्दा बढी बितिसक्दा पनि २५ प्रतिशत काम समेत नभएको स्थानीयले बताएका छन । झन् एक वर्ष यता त निर्माण जिम्मा लिएका निर्माण व्यवसायी काम नै छाडेर बेपत्ता भएको स्थानीयले बताएका छन् । काममा हेलचक्राई गर्ने निर्माण व्यसायीमाथि स्थानीय प्रशासन तथा मातहतका निकायले समेत कुनै निगरानी तथा कारबाही गरेको देखिन्न । उक्त सडक सुख्खा याममा धुलाम्य तथा सामान्य पानी पर्दा हिलाम्मे हुने गरेको छ । सवारी साधनको त कुरै छोडौं, पैदल हिड्न समेत कठिन हुने गरेको छ ।
सर्लाही देखि महोतरी जिल्लाको हर्दी खोलासम्मको सवारी दुरी करिव २० मिनेट हो । तर अहिले डेढ घण्टाभन्दा बढि समय लाग्ने गरेको छ । जीर्ण सडकका कारण दिनदिनै सवारीसाधन बिग्रेर आफुहरू हैरान भएको चालकहरूको गुनासो छ । स्थानीय तहदेखि संघीय संसदमा पुगेका जनप्रतिनिधिहरूले समेत यस सडकको स्तरोन्नतीका लागि ठेक्केदारलाई दबाब नदिएको स्थानीयको गुनासो छ । बजेटको सुनिश्चिता हुँदाहुँदै पनि ठेकेदारले बदमासी गरिरहेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले बताए । स्थानीय दश गाउँका बासिन्दाहरूका लागि किनमेल गर्ने सबैभन्दा नजिकको बजार सदरमुकाम मलंगवासम्म पुग्ने यही एउटा मार्ग हो। भारतबाट सर्लाही हुँदै महोत्तरी पुग्ने मुख्य सडक पनि यही हो। तर सडकको अवस्था यस्तो छ । जिसस प्रमुख चौधरीले भने ।
तपाईको प्रतिक्रिया !!