सूर्यनारायण वि.क । वीरगञ्ज । पर्यटकीय क्षेत्रको पहिचान, प्रचार र पर्यटन व्यवसायको विकासका लागी पर्सामा सरोकारवाला जुटेका छन्। कोरोना भाइरसले थिलथिलो पारेको पर्यटन क्षेत्रको पुनरुत्थानका निम्ती सरोकारवाला तातिएका हुन्। होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले वीरगञ्ज महा– नगरपालिकासँगको सहकार्यमा ‘पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम’ उद्घोष गरेका छन्। ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने नाराका साथ उद्घोष गरिएको कार्यक्रममार्फत सीमा नाकामा लगाइएको प्रतिबन्ध फुकुवा भएमात्र पर्यटन क्षेत्रले गति लिने वक्ताहरूले बताएका छन्।
वीरगञ्जका होटेल व्यावसायीहरूले पर्यटन पुनरुत्थानका लागी विभिन्न ४ वटा प्याकेज घोषणा गरेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । प्याकेज अन्र्तगत भारतबाट आउने पर्यटकहरूलाई एकदिन वीरगञ्ज बसाएर शुक्रवार वीरगञ्जबाट बाराको विश्वप्रसिद्ध महागढीमाई मन्दिर हुँदै जनकपुरको जानकी मन्दिरसम्म घुमाएर पुनः वीरगञ्ज ल्याई होटेलमा बसाएर पठाउने, शनिवार माउण्टेन फ्लाईटमार्फत पर्सा राष्ट्रिय निकुञ्ज घुमाउने र आइतवार हेटौंडाको शहिदस्मार हुँदै चितवनको सौराहासम्म घुमाएर हात्ती तथा जंगल सफारी गराईने रहेका छन्। पर्यटकलाई आकर्षित गर्नका लागि भारतीय पर्यटकहरूलाई वीरगञ्जका होटल व्यवसायीहरूले १५ देखी ३० प्रतिशतसम्म छुट दिने योजना पनि प्याकेजमा समावेश गरिएको अध्यक्ष पन्तले बताए ।
विभिन्न प्याकेज तथा योजनाहरू भएपनि भारतसँगको सीमा नाकामा प्रतिबन्ध लगाइएको हुँदा आफ्ना प्याकेज योजनामा मात्रै सीमित हुने भन्दै यथाशिघ्र सीमा नाका खोल्न पहल गर्न वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले जोड दिए । संघीय सरकारको असहयोगका कारण पर्यटन क्षेत्रले गति लिन नसकेको नगरप्रमुख सरावगीको भनाई छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका संरक्षक अनिल रुँगटाले कोभिड–१९ ले होटल तथा पर्यटन व्यवसाय ९ महिनासम्म शून्य अवस्थामा रहेकोले राज्यले विशेष प्याकेज तथा राहतको घोषणा गर्न‘पर्ने माग गरे। वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ताले पर्यटन व्यवसायमा कोभिडले पारेकोे प्रभावका कारण आर्थिक हिसाबले कमजोर बनेको तर्क गर्दै भारतीय पर्यटकलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न‘पर्ने आवश्यक्ता औंल्याए ।
प्रधानमन्त्रीको समय माग
सीमा नाकामा लगाइएको प्रतिबन्ध फुकुवा गर्न वीरगञ्जका होटेल तथा पर्यटन व्यावसायीहरूले पहल थालेका छन्। मुख्यतयाः भारतीय पर्यटक नभित्रिदासम्म पर्यटन व्यवसाय माथी उक्सिन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सीमा खुलाउन माग गर्ने व्यवसायीको भनाई छ । कोभिड–१९ ले होटल तथा पर्यटन क्षेत्रमा पारको े प्रभावको विषयमा वृतचित्र (डकुमेन्ट्री) बनाई ज्ञापनपत्र बुझाउन समय माग गर्न प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापा र आर्थिक सल्लाहाकार मोतिलाल दुगडमार्फत सन्देश पठाइएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले जनाएका छ ।
तपाईको प्रतिक्रिया !!