सर्लाही : विद्युत सर्ट भई आगलागी हुँदा सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा दुईतल्ले घर जलेर खरानी भएको छ । आगलागीबाट करिब ८ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय प्रेमनाथ साह तेलीको ईट्टाको पर्खाल तथा खपडाले छाएको दुईतल्ले घरमा मंगलबार अचानक बिद्युत सर्ट भएर आगलागी भएको थियो।
आगलागीबाट घर पुर्णरुपमा जलेको र घरभित्र रहेका पलङ्ग, खाट, सोफासेट, टेबुल, स्टिल दराज, टिनको ट्यांका, सिलाइ मेसिन, टेबुल पंखा, सिलिङ पंखा, एलइडी टिभी र अन्य भाडावर्तन, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागी भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी नायब निरीक्षक विश्वेश्वरप्रसाद सुनरैतको नेतृत्वमा खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यस्तै सर्लाहीकै लालबन्दीमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१४ पन्ध्रबिघा भन्ने ठाउँमा स्थानीय शेरबहादुर स्याङ् तानको छोरीको घरमा बिवाहको भोज बनाउन भनी गएका एक पुरुषको भिरबाट लडेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका कै वडा नम्बर ११ बस्ने अन्दाजी वर्ष ३५ का कुमार भुजेल रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!