
मनोज यादव । सर्लाही । गाउँपालिकाको केन्द्र सार्ने विषयलाई लिएर असन्तुष्ट बनेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी गरी धर्ना दिएका छन्। उनीहरूले अहिले भएकै स्थान (नाढीमन ताल) मा केन्द्र हुनु पर्ने अडान लिँदै फागुन २१ गते देखि नै गाउँपालिका कार्यालयको मूलगेटमै तालाबन्दी गरी विरोध गरि रहेका छन्। सातवटा वडा संख्या रहेको सो गाउँपालिकामा अहिले भएकै स्थानमा कार्यालय हुनु पर्नेमा वडा नम्बर ६ र ७ का स्थानीय देखिएका छन् भने केन्द्र सबैलाई पायक पर्ने स्थानमा सार्नु पर्ने पक्षमा वडा नम्बर १, २, ३, ४ र ५ का स्थानीय रहेका छन्।
उनीहरूले गाउँपालिकाको केन्द्र सबैलाई पायक पर्ने गरी वडा नम्बर २ स्थित बबरगञ्जमा नै सार्न माग गर्दै गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा बुधवार गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोका घर घेराउ गरेका छन्। गाउँपालिका अध्यक्ष महेन्द्र महतोको बबरगंज स्थित घरमा घेराबन्दी गरि आधा घण्टा नाराबाजी गरेका उनीहरूले अध्यक्षको घरमा ढुंगामुढा समेत गरेका छन्। केन्द्र सार्ने भन्ने विषयमा गाउँ कार्यपालिकाको बैठक समेत बसिसकेको तर बैठक बिना निष्कर्ष टुंगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक साहले बताए । गाउँपालिका अध्यक्ष महेन्द्र महतोले भने गाउँपालिका सार्ने विषयमा छलफल भए पनि गाउँसभाको दुई तिहाई बहुमत नभएसम्म सार्ने नसार्ने टुंगो नलाग्ने बताए ।
तपाईको प्रतिक्रिया !!