काठमाडौं : एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु अलमलमा परेका छन्।
नेकपा नरहेसँगै यसका पूर्वघटक एमाले र माओवादी केन्द्रका नेताहरु त्यतै लागेपछि सरकारमा सहभागी मन्त्रीहरु अन्योलमा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन्। माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निचोडमा पुगेको छ।
फागुन २३ गते, आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै तत्कालीन एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि यी दुवै पार्टीले आफ्ना गतिविधि सुरु गरिसकेका छन्। तत्कालीन नेकपाको प्रचण्ड(माधव पक्षमा रहेका एमालेका नेताहरुले एमालेमै सक्रिय रहने निर्णय गरिसके पनि सरकारमा रहेका र प्रधानमन्त्री ओली नेतृत्वको तत्कालीन नेकपामा पुगेका माओवादी नेताहरु भने अब ओली नेतृत्वको एमालेमै रहने वा माओवादीमा फर्कने भन्नेबारे अनिर्णित छन्।
थापा र तामाङ ओलीतिर, अरु पाँच जना परामर्शमा
ओली सरकारमा रहेका खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा तामाङले अब माओवादीमा नफर्किने संकेत देखाइसकेका छन्। उनीहरु दुवै जना संसद सदस्य होइनन्। संघीय संसदको सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी भने यसबारे कुनै निर्णयमा पुगेका छैनन्। उनीहरु मंगलबार दिनभर यसबारे आन्तरिक परामर्शमै थिए।
प्रधानमन्त्री ओली नेतृत्वको एमालेमै रहँदा सांसद पद नरहने भएपछि सांसद पद माया मारेर एमालेमै रहने वा मन्त्री छाडेर माओवादीमा फर्कने भन्नेबारे उनीहरुले छलफल गरिरहेका छन्। मंगलबार दिउँसो गृहमन्त्री थापासहित तत्कालीन माओवादीमा रहेका मन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन्। उनीहरुले करिब २ घण्टा प्रधानमन्त्रीसँग छलफल गरेका थिए।
प्रधानमन्त्रीलाई भेटेर बालुवाटारबाट फर्केपछि उनीहरुले गृह मन्त्रालयमा बसेर छलफल गरे। माओवादीबाट सहभागी मन्त्रीहरु एमाले वा माओवादी कता रहने भन्नेबारे बुधबारसम्म निर्णय भइसक्ने एक नेताले बताए। लामो समय अलमलमा बस्ने अवस्था नभएकाले तत्काल निर्णय गर्नुपर्ने अवस्था आएको ती नेताको भनाइ छ।
‘हामी एमालेमै रहने कि माओवादीमा फर्कने भन्ने विषयमा फाइनल निर्णय गरेका छैनौं। माओवादी पक्षबाट मन्त्री भएका साथीहरुबीचमा छलफल हुँदैछ। जहाँ गए पनि एउटै ठाउँमा रहनुपर्छ भन्ने बुझाइ छ’, श्रममन्त्री गौरीशंकर चौधरीले भने।
खानेपानीमन्त्री मणि थापाले माओवादीमै फर्कने सम्भावना कम देखिएको बताए। पुरानो पार्टी भत्काइसकेपछि फेरि त्यहीँ फर्कनुपर्छ भन्ने अवस्था नरहेको उनले उल्लेख गरे।
तपाईको प्रतिक्रिया !!