
जनकपुरधाम : गत पुस ५ मा प्रधानमन्त्री कपी शर्मा ओलीले प्रतिनिधीसभा बिघटन गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भयो। नेता÷कार्यकर्ता मात्र होइन्, जनप्रतिनिधी पनि यताबाट उता जान थाले। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपाको निर्मण भएपनि अनौपचारिक विभाजन पश्चात एमालेका नेता माओवादीतर्फ र माओवादीका एमालेतर्फ लागे। यो प्रभाव प्रदेश २ मा पनि प¥यो। प्रदेशका तत्कालिन माओवादीका सांसद एमालेतर्फ र एमालेका माओवादीतर्फ खुलेरै आए ।
हुन त नेकपा सांसदको यताबाट उता गर्ने प्रकृयाले यहाँको सत्तामा कुनै प्रभाव पारेन् । आईतबार सर्वाेच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रलाई व्यूँत्याउने आदेश दिएपछि यताबाट उता जाने सांसदलाई अब आफ्नै पार्टीमा फर्किनुपर्ने बाध्यता उत्पन्न भएको छ । मूल पार्टीमा नफर्किए साँसद पद नै गुम्ने डरले उनीहरू छलफलमा जुटेका छन्। तत्कालिन नेकपामा विवाद आउँदा नेकपा माओवादी केन्द्रका सांसद रामचन्द्र मण्डल, ज्वाला कुमारी साह र दिलिपकुमार साह ओली समूहमा लागे। ओली समूहमा लागेकै कारण सिरहा क्षेत्र नम्बर ४ को ‘क’बाट निर्वाचित सांसद दिलिप साह बहुविवाह मुद्दामा आम माफी समेत पाएका छन्। श्रीमती संगीतादेवी यादवले दिएको मुद्दामा उनलाई धनुषा जिल्ला अदालतले ३ जेठ, २०७२ मा एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो। तर एक दिन पनि कैद भुक्तान नगरेका उनलाई सरकारले फागुनको पहिलो साता आम माफी दिएको छ ।
तत्कालिन एमालेका १३ जना सांसद भने प्रचण्ड–माधव समूहमा खुलेका थिए । सांसद गोविन्द बहादुर न्यौपाने, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, शत्रुध्न महतो, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव, सुन्दर बहादुर विश्वकर्मा प्रचण्ड माधवतिर खुलेका थिए । यी सांसदले नेकपाका तत्कालिन संसदीय दलका नेता सत्यनारायण्म मडलबिरुद्व अविश्वासको प्रस्ताव नै दर्ता गराएका थिए । तत्कालिन एमालेका सांसद सीता गुरुङ पनि यही समूहमा खुलेका थिए । २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेले प्रदेश २ मा कुल २१ सिट प्राप्त गर्दा १४ सिटमा प्रत्यक्ष जित प्राप्त ग¥यो भने ७ वटा समानुपातिक सिटमा सांसद बने। यस्तै तत्कालिन नेकपा माओवादी केन्द्रले ११ वटा सिट प्राप्त गर्दा ६ वटा प्रत्यक्ष जित तथा ५ वटा सिट समानुपातिकबाट पाए ।
दह्रो मनमुटाव
दुई पार्टीबीच एकीकरण भएदेखि नै प्रदेशमा नेकपा सांसदबीच मनमुटाव थियो। यसको उदाहरण हो प्रदेश सभामा यो पार्टीले पाएको सार्वजनिक लेखा समितिको जिम्मेबारी हालसम्म पाउन नसक्नु। पार्टीले समितिको सभापतिमा तत्कालिन भरत साहलाई उम्मेदवार बनाउने निर्णय गर्दा तत्कालिन एमालेका सांसद शत्रुधन महतोले बागी उम्मेदवारी दिएपछि विवाद चर्कियो। जुन विवादका कारण यो समितिमा पदाधिकारी नियुक्त हुन सकेको छैन्। झन् प्रतिनिधी सभा विघटनपछि माधव–प्रचण्ड समूहले केपी ओली निकट संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई बनाए ।
मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराउँदा तत्कालिन एमालेकै १२ जना सांसदले हस्ताक्षर गरेका थिए । अब एमालेका २१ जना र माओवादीका ११ जना सांसदलाई आफ्नै दलको कुर्सीमा बस्नेछन्। विगतदेखि नै तिक्तता रहेको यी पार्टीका सांसदबीच अब एक ठाउँमा आएपछि झनै तिक्तता बढ्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया !!