काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारको नाम लिनुअघि एक हजार पटक सोच्नुपर्ने टिप्पणी गरेका छन्। आज बसेको पार्टी संसदीय दलको बैठकमा उनले खाली हात सरकारमा जान नहुनेमा जोड दिए।
सरकारमा सहभागिताबारे संसदीय दलको बैठकले पर्याप्त छलफल गरेर निर्उाय लिनुपर्नेमा उनले जोड दिए। ‘उधारो सम्झौता गरेर सरकारमा जाँदैनौं। रेशम चौधरीलगायत सबै रिहा हुनुपर्छ। हाम्रो माग सम्बोधन नभएसम्म कसैसँग सम्झौता र सहकार्य हुँदैन,’ उनले भने।
संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ आफ्नो पार्टीका सर्त रहेको उनले बताए। ‘उधारोमा होइन, नगद सम्झौता हुनुपर्छ। किनभने हामीले विगतमा पटकपटक धोका पाइसकेका छौं। एमाले, कांग्रेस, माओवादी सबैबाट धोका भएको छ। हामीले वैकल्पिक शक्ति बन्नु छ, त्यसैले हचुवाको भरमा केही गर्न हुन्न,’ उनले भने। तीनै पार्टीले गद्दारी गरेको आरोप उनले लगाए।
जसपाका नेता राजेन्द्र श्रेष्ठले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि बचाउनु नै अहिलेको मुख्य विषय भएको बताए।
श्रेष्ठले भने, ‘जसले ती उपलब्धि समाप्त गर्न खड्ग लिएर हिँडेको छ, उसैसँग सहकार्य हुन सक्दैन। जसको विरुद्ध लडाइँ लडिएको छ, उसैसँग घाँटी जोड्ने कुरा हुँदैन। गठबन्धन त प्राकृतिक हुनुपर्छ।’
श्रेष्ठले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। तर, राजनीतिक निकासका लागि सबै पक्षसँग संवाद गर्न भने पार्टी तयार रहेको उनले बताए। सहकार्यका बारेमा पार्टी छलफलकै क्रममा रहेको उनले सुनाए।
संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो।
तपाईको प्रतिक्रिया !!