अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरी विविध कार्यक्रम गरी मनाईएको छ । ८ मार्चलाई विश्वभरका हामी नारीहरूले आफ्नो अधिकार स्थापित भएको दिनको रुपमा मनाउने गर्छौं र मनाउँदै आई रहेका छौं । यो दिवसलाई सम्पूर्ण नारीहरूको विशेष दिनको रुपमा मनाउने गरिएको छ । यो दिवसलाई सर्वप्रथम् १९०९ फेब्रुअरी २८ बाट मनाउन थालिएको थियो। त्यसपछि १९१० मा नारीलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस सुरू गरिएको थियो। संयुक्त राज्य अमेरिकाबाट सर्वप्रथम नारी दिवसको सुरुवात भएको भएपनि अहिले नेपाल सहित संसार भरीका हामी नारीहरूले यसलाई आफ्नो अधिकार स्थापित भएको दिनका रुपमा स्मरण गर्दै मनाउँन थालेका छौं । अहोरात्र श्रममा खटिँदा समेत श्रमको उचित सम्मान नहुने देखेपछि त्यसबेला त्यहींका कपडा उद्योगमा काम गर्ने महिला कामदारले आन्दोलन गरेका थिए ।
त्यही स्मरणमा महिला दिदिबहिनीले यो दिवसलाई आफ्नो अधिकारसँग जोडेर समेत हेर्ने गरेका छन् । नेपाली महिला दिदिबहिनीहरूलाई अधिकारको बारेमा खासै जानकारी नहँुदा त्यसको कार्यान्वयन हुन सकेको छैन्। हाम्रा अधिकारका कुरा हामी आफैले त उठाएका नै छौ, यहाँ हाम्रा अधिकार उठाउने र स्थापित गराउने काममा धेरै कसरत भएका पनि छन्। अझै यदाकदा ग्रामीण वस्ती र दलित सामुदायका महिला दिदिबहिनी माथि गरिने व्यहारमा खासै परिवर्तन आउँन सकेको छैन्। रात दिन नभनेर काममा खटिने महिला दिदिबहिनीले आज पनि श्रममा समानता पाउन सकेका छैनन्। म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न गइरहेकी छु– हामी नारीहरू आज पनि बिहान उठेको बेला देखि राती सुत्नु अघिसम्म कुनै न कुनै काममा व्यस्त हुन्छौं । त्यसो हुनु हाम्रो भाग्य वा कर्म भन्नु पर्छ । घरभित्रको काम होस् वा घरबाहिरको यहाँ हरेक काममा लैङ्गिक विभेद हुने गरेको देखिन्छ । हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू निकै उठेपनि त्यो खासै प्रभावकारी हुन सकेन, हुन सकेकै छैन ।
सरकारले महिला हिंसाविरुद्ध विभिन्न अभियान नै चलायो। म जुन ठाउँमा उभिएकी छु त्यहाँ पनि हामी माथिको विभेद कायम छ । यहाँका धेरै दिदिबहिनी अहिले पनि घरभित्र घुम्टोमा छोपिएर चुलोचौको र भातभान्सामा नै सिमित भएका छन्। त्यती मात्र होईन यहाँ महिलाको अधिकार कुण्ठित गर्ने देखि लिएर दाइजो बहुविवाह भुणः हत्या गर्नेसम्मका ठुला अपराध महिला दिदिबहिनी माथि नै हुने गरेका छन् । हामीले आमाको गर्भबाट नारी भएर जन्म लिएको दिन देखिनै विभेदको सामना गर्नु पर्छ । एउटै बाबुआमाबाट जन्मिएका छोरा र छोरीमा पालनपोषण देखि शिक्षादिक्षामा समेत विभेद हुने गरेको छ । छोराको लवाइखुवाई पढाई खर्च ठुलै आकारमा हुने गरेको भएपनि छोरीलाई सामान्य लेखपढ र सामुदायिक विद्यालयमा कम खर्चमा पढाउने गरेका धेरै उदाहरण छन् । आज सामुदियक विद्यालयमा पढने छात्रको संख्या दिनदिनै घटदै गएको छ भने छात्राको संख्या बढिरहेको छ । छोराहरूको पढाइका लागि बुवाआमाको रोजाई निजी विद्यालय हुने गरको े छ भने छोरीको पढाइ गाउँको विद्यालयमा हुने गरेको छ ।
फलस्वरुप अहिले जुनसुकै सामुदायिक विद्यालयमा छात्राको सख्या करिब ६५ प्रतिशत भन्दा माथि हुने गरको े तथ्याङकले देखाएको छ । सरकार यही तथ्यांकलाई आधार बनाएर शिक्षामा छोरीको पहूँच बढेको भन्छ । हुन त अहिले शैक्षिक सुधारको अवस्था हेर्दा शिक्षामा पुरुष भन्दा महिला निकै राम्रा र अब्बल देखिएका छन्। छात्राको पढाइमा सरकारले विषेश सुविधा दिएपछि अहिले ग्रामीण क्षेत्रमा रहेका महिला दिदिबहिनीको शैक्षिक सुधारको अवस्था आशलाग्दो र भरलाग्दो अवस्थामा पुगेको छ । आजभन्दा करिव ३५ वर्ष अघि औंलामा गन्न सकिने सामान्य लेखपढ गरका महिला दिदिबहिनी े मात्र गाउँघरमा भेटिन्थे। आज त्यो सख्यामा उल्लेख्य वृद्धि भएको छ । शिक्षामा महिलाको पहूँच बढ्नु सकरात्मक भए पनि त्यसलाई सही ठाउँमा व्यवस्थापन गर्नु अर्को चुनौती हो। अवसरका खोजिमा रहेका दिदिबहिनीहरू आज यहाँ राम्रो श्रमको व्यवस्था नभएपछि र यहाँ श्रमको सम्मान नभएपछि जोखिम मोल्दै परदेशका बाटो रोज्न बाध्य भएका छन्। यसरी परदेशमा गएका महिला दिदिबहिनीहरू बेलाबेलमा हिंसाको चपेटामा पर्ने गरेका छन् । आज महिला दिवस मनाई रहदा अर्को तिर दिदिबहिनीहरू जोखिम मोल्दै परदेशको बाटो रोज्न वाध्यता भएको छ । त्यसकारण सामाजिक पहिचानको प्रतिनिधित्व हुनेगरी निर्णायक तहमा हामी महिला दिदि बहिनीको सहभागिता नभएसम्म हामी माथि हुने विभेद अन्त्य हुन सक्दैन । हामी माथीको विभेद अन्त्य हुन समाजमा साँस्कृतिक, आर्थिक तथा राजनीतिक तहमा हाम्रो न्यायोचित प्रतिनिधित्व हुनुपर्छ ।
देशमा महिला प्रमुख छन् भन्ने बित्तिकै सबै खाले विभेद सक्कियो भन्ने होईन । नीति निर्माण प्रक्रियामा हाम्रो सहभागिता हुनु नै महिला अधिकार प्राप्ति हो। यहाँ मलाई अर्को कुरा पनि भन्न मन लाग्यो, महिला अधिकारका कुरा गर्ने हाम्रा ठुलाठालु भन्ने नेता ज्यूहरू गाउँघर वा सहरमा हुने कार्यक्रममा भाषण गर्न जाँदा महिला सहभागिलाई मञ्चको पछि तिर राख्दै गजदम्ब बनेर बस्छन्। अनि भाषणमा महिला अधिकारका कुरा निकै चर्को आवजमा गर्छन्। उनै गजदम्ब बनेर बसिरहेकाहरूलाई स्वागत स्वरूप पुष्पगुच्छा हातमा लिएर हामी महिलादिदि बहिनी त्यहाँ जानु पर्ने ? के त्यो काम पुरुषले गर्न सक्दैनन् ? के महिलाले त्यो बाहेक अरु काम गर्न मिल्दैन ? म आज यसको पनि उत्तर खोजिरहेकी छु। हामी महिला उनै गजदम्ब बनेर बसेका अतिथिलाई ब्याच वितरण गर्नका लागि मात्रै योग्य हौ त ? मैले के पनि देखेकी छु भने ठुला कार्यक्रम देखि हरेक ठाउँमा महिला दिदिबहिनालाई खेलौनाका रुपमा खेलाउने काम पनि आज भैइरहेको छ । तपाईंलाई लागेको होला यसले ठूला–ठूला कुरा गरी भनेर ।
हाम्रो समाजले महिला दिदिबहिनी प्रति हेर्ने दृष्टिकोण र सोचाईमा अझै परिवर्तन हुन सकेको छैन । महिलाहरूले हरेक ठाउँमा श्रम गर्नु पर्छ र यि महिला भनेका श्रमिक बाहेक केही हुन सक्दैनन् भन्ने हाम्रा दाजुभाइको सोच परिवर्तन हुन जरुरी छ । अझैं के देखिन्छ भने राज्यको हरेक तहको निर्णयकमा पुरूष प्रतिनिधिको सहभागिताले महिलाको मर्म र भावनाको सम्वोधन गर्न सकिरहेको छैन । यो ठुलो चुनौतीसँगै समस्या पनि हो। अझ महिला माथि भएका घटनालाई हेर्ने हो भने यो निकै गम्भीर र डरलाग्दो छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनामा बलात्कार तथा बलात्कार प्रयासका एक हजार दुई सय ६० वटा घटना दर्ता भएका छन । पीडितमध्ये आधा बालिका छन । गत आर्थिक वर्ष ०७६÷७७ मा देशभर दुई हजार आठ सय ३१ महिला बलात्कृत भए ।
त्यसमध्ये एक हजार तीन सय ९३ जना १८ वर्षमुनिका नाबालिका छन । त्यसमा पनि दुई सय ७३ बालिका त १० वर्षभन्दा कम उमेरका छन्। हरेक वर्ष बलात्कृत हुने नाबालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । यस्तो डरलाग्दो अवस्थामा नारी दिवसले पुरुषवादी चिन्तनको अन्त्य गर्दै महिलामैत्री शासन व्यवस्था लागू गर्नमा मद्दत गर्नेमा म विश्वस्त छु। सबै श्रमजीवी महिला एक हुनु आजको आवश्यकता हो। नारी दिवसले नारी एकतालाई अझ बलियो बनाउन सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु। र नारी एकता र उत्थानका लागि एकजुट हुन र हातेमालो गरी अघिबढ्ना सम्पूर्णमा आव्हानसमेत गर्दछु।
तपाईको प्रतिक्रिया !!