श्रीकान्त झा । जनकपुरधाम । भारततर्फ हिडेका एक जोडी प्रेमजोडीलाई सशस्त्र प्रहरीको विओपीले उद्धार गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्वर ३ स्थित भिठ्ठामोर मलिवारा नाकाबाट भारत तर्फ हिँडेका नाबालिक एक प्रेमजोडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टले जलेश्वरले सोमवार उद्धार गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक विर्ख बहादुर शाहीले दिएको जानकारी अनुसार धनुषा निवासी अकवर नादाफको अन्दाजी १८ वर्षीय छोरा सिराज नादाफ र महोत्तरी पिपरा गाउँपालिका वडा नम्वर ५ बस्ने राजाराम रामको छोरी अन्दाजी १७ वर्षकी सरस्वती रामलाई सीमापार गर्न लाग्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले एकअर्कालाई प्रेम गरेको र विहेको लागि घरपरिवार राजी नभएपछि आफुखुसी भागेको र भारतमा गई विहे गर्ने योजना बनाएको बयान दिएका छन्।
सशस्त्र प्रहरीको ती जोडीलाई थप सोघपुछ तथा सुरक्षाका लागि महिला पुनःस्थापना केन्द्र ओरेकका अधिकृत लिला दियालीको जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक शाहीले बताए । उनले नेपाल–भारत सिमानाकामा हुने मानव बेचबिखन, हुण्डी कारोवारी, लागुऔषध सेवन तथा ओसारपोसार लगायतका अन्य अपराधिक गतिविधिमाथि काडा निगरानी गरिरहेको बेला भारत तर्फ हिँडेका उक्त नबालक प्रेमजोडी फेला परेको बताए ।
तपाईको प्रतिक्रिया !!