मनोज यादव । सर्लाही । वर्षाै वर्ष देखि सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका स्थित रहेका बजार र भित्री टोलका सडकहरू साँघुरो तथा जिर्ण अवस्थाका रहे पनि कुनै निकायले ध्यान नदिँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । बाबा स्वामीको मठदेखि बसपार्क, बालमन्दिर, नगरपालिका चौक, भगवती मन्दिर हुँदै राजश्री सिनेमा हलसम्मको मुख्य सडकको दुबै छेउमा सानाठूला सवारीसाधनहरू पार्किङ गर्दा सवारीसहित पैदल यात्रीहरूलाई समस्या हुने गरेको छ । उक्त सडकमा गाडीहरूको चाप पनि धेरै हुने गरेका छन् ।
मुख्य सडक मात्र नभइ नगरका भित्री सडकहरू पनि साँघुरो रहेका छन्। तर ती सडक निर्माणका लागि पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएको स्थानीयले बताएका छन्। नगरप्रमुख निरसल साहलेभने अब केही दिन भित्रै सडक अतिक्रमण गररे बनाइएका घर टहराहरू हटाउनका लागि सूचना जारी गरि सडक निर्माणको काम सुरु गर्ने बताएका छन्। बजारमा प्रवेश गर्ने सबै बाटोहरू अतिक्रमण गरिएका छन्। कसको घर सडकमा पर्छ कसको पर्दैन त्यो हेर्ने समय नरहेको र जनसंख्या दिन प्रतिदिन बढिदै गईरहेकोले आउँदो पुस्ताको भविष्यलाई मध्येनजर गर्दै सडक चौडा हुनु पर्ने स्थानीयको सुझाव छ ।
विकासको मामिलामा मलंगवा जिल्लामै सबैभन्दा पुरानो र पहिलो नगरपालिका भएपनि लालबन्दी, हरिवन, बागमती, बरहथवा, इश्वरपुर लगायतका नयाँ नगरपालिकाहरूको तुलनामा धेरै पछाडि परेकोले मलंगवालाई विकास तिर ल्याउन कसैको प्रभावमा नपरी जनता प्रति उत्तरदायी भएर अगाडि बढनु पर्ने स्थानीयले बताएका छन्।
तपाईको प्रतिक्रिया !!