सर्लाही । सर्लाहीको महालक्ष्मी चिनी उद्योग बन्द भएको छ । झण्डै नौ लाख क्विन्टल उखु क्रसिङ गरी गोडैता नगरपालिकामा रहेको उक्त उद्योग बन्द भएको हो। उद्योगले गत पुस ५ गतेदेखि उखु क्रसिङ सुरु गरेको थियो। उद्योगका प्रशासकीय प्रबन्धक बिरन्द्रकुमार े श्रीवास्तावले ८ लाख ९० हजार क्विन्टल उखु पेलेर यो वर्षका लागि बन्द गरिएको बताए । उद्योग बन्द भयो तर भुक्तानी अझै नपाएको उखु किसानहरूले गुनासो गरेका छन्। उद्योगले सुरुको पाँच दिन पेलेको उखुको भुक्तानी दिए पनि त्यसपछिको भुक्तानी नदिएको किसानहरूको गुनासो छ । भुक्तानी नपाएका किसानहरू दुःखी बनेका छन्।
यता, अधिकृत श्रीवास्तवले केहि दिनपछि भुक्तानी दिने बताए । कुनै किसानको भुक्तानी बाँकी नराख्ने उनको भनाई छ । उखु किसान समेत रहेका गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले उद्योगले किसानको भुक्तानी नदिए आन्दोलनमा उत्रने चेतावनी दिए । उनले तत्कालै किसानको भुक्तानी दिन उद्योगसँग माग गरे।
हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले भने किसानको भुक्तानी गरिरहेको छ । उद्योगले हालसम्म २१ लाख ३५ हजार क्विन्टल उखु पेलिसकेको प्रबन्धक योगनारायण रजकले बताए । उनले तीन÷चार दिन उद्योग सञ्चालनमा रहने बताए । गत पुस र माघको ५९ करोड रुपैयाँ भुक्तानी गरिसकेको प्रबन्धक रजकले दावी गरे। फागुन १ गतेदेखिको तालिका पनि प्रकाशित गरिसकेको बताए ।
तपाईको प्रतिक्रिया !!