
जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाको कार्यालयमा बृद्धबृद्धाले आईतवार तालाबन्दी गरेका छन् । विगत ८ महिनादेखि भत्ता नदिएको भन्दै उनीहरू आक्रोशित भएर गाउँपालिकामा तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्न गाउँपालिकाको कार्यालय पुगेका बृद्धबृद्धाहरू अध्यक्ष ब्रह्मदेव यादवविरुद्ध नाराबाजी गरे । उनीहरूले अध्यक्ष यादवकै लापरबाहीले आफूहरू भत्ता नपाएको गुनासो गरेका छन् । औरही गाउँपालिका २ का सोनेलाल साह भन्छन्, ‘भत्ता नपाएका बृद्धबृद्धा मर्न लागेका छन् । तर गाउँपालिका अध्यक्षले आफूहरूको पीडा बुझेका छैन ।’ यस्तै ७५ वर्षीया बृद्धा समुन्द्री पासवानले भत्ता पाउने आशमा करिब ३५÷४० दिन गाउँपालिका कार्यालय आएको सुनाइन् । उनले भनिन्, ‘आँखाको उपचार गराउनु छ । छोराहरू एक रुपैया दिदैन । गाउँपालिकाबाट भत्ता पाएपछि उपचार गराउँछु ।
तर भत्ता दिनै मानेका छैन ।’ २० दिन अगाडी पनि तालाबन्दी गरेके सुनाउँदै उनले भनिन्, ‘त्यो दिन उपाध्यक्षले सिडिओसँग कुरा गराउँदा चार दिनभित्रै भत्ता वितरण हुने भन्यो। तर आजसम्म वितरण नगरेपछि फेरी आन्दोलन गर्न आउनुपरेको छ ।’ भत्ता दिने मेयरलाई सरकारले किन कारबाही गर्दैन– उनको प्रश्न थियो। सोनेलाल र समुन्द्री जस्तै पीडा अन्य बृद्धबृद्धाले पनि सुनाए । कतिपयले त सरकारमाथि समेत आक्रोस पोखे। ‘चुनावका बेला हात जोडेर भोट माग्न आउछन्’, एक बृद्धाले भनिन्, ‘तर चुनाव जिताइसकेपछि समस्या परेका बेला नेताहरूलाई खोज्दै हिड् दा पनि भेट्दैन ।’ महिनौं दिनदेखि भत्ता माग्न गाउँपालिका आउछु, तर कोही भेट्दैनन्– उनले गुनासो गरिन्।
बृद्धबृद्धाहरू भत्ताका लागि आन्दोलन गरिरहँदा आइपुगेकी उपाध्यक्ष मीरादेवी सहनीले गाउँपालिका अध्यक्ष र अधिकृतको लापरबाही तथा लेखापाल नभएकाले बृद्ध भत्ता वितरण नभएको बताइन्। उनले भनिन्, ‘भत्ता वितरणमा ढिलो भएपछि म जनकपुर कोलेनिका कार्यालयसम्म पुगे। तर न लेखापाल कार्यालयमा उपस्थित हुन मानेका छन्, न गाउपालिका अध्यक्ष कार्यालय आइरहेका छन्। अनी कसरी भत्ता वितरण हुन्छ ।
तपाईको प्रतिक्रिया !!