जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका ३ स्थित राप्रावि कठपुल्लामा नयाँ भवन बन्न लागेको छ । शनिवार एक समारोहबीच मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा, वडाध्यक्ष उदय सिंह र विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् । मेयर मण्डलका अनुसार ४७ लाखको लागतमा विद्यालयको भवन निर्माण हुनेछ । चार कोठे पक्की भवनका लागि नगरपालिकाले २२ लाख र तराई मधेस समृद्ध कार्यक्रमले २५ लाख रुपैया उपलब्ध गराएको छ ।
चालु आर्थिक वर्षमै भवन निर्माण गरी उपभोक्ता समितिले विद्यालयलाई हस्तान्तरण गरिने मेयर मण्डलले जानकारी दिए । उनले भुकम्पले समेत क्षति नपुर्याउने भवन निर्माण हुने बताए । भने, ‘भवन निर्माणमा कुनै किसिमको लापरबाही भए खबर गर्नुहोला । गुणस्तरमा कुनै सम्झोता गर्न सकिदैन ।’ मापदण्ड अनुसार भवन निर्माण गर्नमा भूमिका खेल्न अभिभावकहरूले उनले आग्रहसमेत गरे। उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि सबभन्दा बढी बजेट खर्च गरिरहेको बताए । उनले भने, ‘यसअघि दर्जनौं विद्यालयको भवन शिलान्यास गरिसकेका छौं ।
अहिले निर्माण कार्य जारी छ ।’ उनले विद्यालयमा भवन अभावका कारण पठनपाठन प्रभावित भइरहेको महसुस गररे भवन निर्माण अभियान नै चलाएको बताए । भवन उद्घाटन समारोहमा जसपाका केन्द्रीय सदस्य अनिल महासेठ, प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका संजय सिंह र स्थानीय बुद्धिजिविहरूले सम्बोधन गरेका थिए । उनीहरूले शिक्षा क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिएका थिए । वडाध्यक्ष उदय सिंहले सामुदायिक विद्यालयमा पठनपाठनको अवस्था सुधार आएमा सबैले सामुदायिक विद्यालयमै छोरा–छोरी पढाउने बताए । उनले यसका लागि हरसम्भव प्रयासमा लागेका पनि बताएका थिए ।
तपाईको प्रतिक्रिया !!