जनकपुरधाम । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारका शहरि विकास मन्त्री प्रभु साहलाई बर्खास्त गर्न माग गरेका छन् । जिल्ला सहकारी संघ लि. धनुषाको बार्षिक साधारण सभालाई शुक्रवार जनकपुरमा उद्घाटन गर्दै राज्यमन्त्री यादवले किसानको गहुँबालीमा डोजर चलाउने मन्त्री साहलाई बर्खास्त गर्न माग गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री ओली ज्यूलाई भन्न चाहन्छु कि महिला हिँसा गर्ने, भ्रष्टाचार गर्ने र कृषक उत्पादनको डोजरले नष्ट गर्ने कुसंस्कारी मन्त्रीलाई तत्कालै बर्खास्त गर्नुस् ।’
मन्त्री प्रभु साहले एक महिलासँग ३० लाख रुपैया सापटी लिएर बेइमानी गरको े आरोप समेत उनले लगाए । उनले भने, ‘चुनावका बेला मन्त्री साहले लिएको रुपैया फिर्ता नगरेको भन्दै पीडित महिलाले मन्त्रालयमै गएर विषय सेवन गर्न लागेको खबर विभिन्न छापा माध्यममा आइसकेको छ । त्यसैले यस्ता भ्रष्ट मन्त्रीलाई बर्खास्त गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछु।’ उनले ओली आफैं पनि बर्खास्त भइसकेको र प्राविधिक ढंगले मात्र प्रधानमन्त्री रहेको बताए । उनले बनमन्त्रीले रुखविरुवा कार्वनडाइअक्साइड मात्र दिन्छन् भन्ने अभिव्यक्ति दिँदा आश्चर्य लागेको पनि बताए । शिक्षामन्त्री पनि गैरजिम्मेवार रुपमा अभिव्यक्ति दिएको भन्दै मन्त्रीहरूलाई अनुशासनको कारबाही गर्नुपर्ने उनले बताए ।
असन्तुष्ट पक्षद्वारा प्रदर्शन
सहकारी संघ लि. धनुषाको बार्षिक साधारण सभामा असन्तुष्ट पक्षले होहल्ला गरे । संघका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै केहि सदस्यले होहल्ला गरी साधारणसभा स्थगितको माग गर्दा उद्घाटन समारोह केहिबेर रोकिएको थियो । तर सुरक्षाकर्मीले होहल्ला गर्नेहरूलाई बाहिर निकालेर अवस्था साम्य पारेपछि सद्घाटन सत्र सम्पन्न भयो। संघका उपाध्यक्ष बिनोद रोहिताले बाहिरका मानिस ल्याएर असन्तुष्ट केहि सदस्यले प्रदर्शन गर्न लगाएको बताए । उनले भने, ‘कुनै विषयमा विवाद छ भने बन्दसत्रमा छलफल गर्न सकिन्थ्यो। तर प्रदर्शन गरी साधारणसभा नै स्थगित गर्ने प्रयास उनीहरूको असफल भयो। हामी शान्तिपूर्ण तरिकाले साधारणसभा सम्पन्नगरेका छौ ।’
तपाईको प्रतिक्रिया !!