सन्तोष यादव । जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका दाइजो दिएर सात जोडीको सामुहिक विवाह गराएको छ । तर गाउँपालिका अध्यक्ष विक्रम चौधरीले दाइजो उन्मूलन गर्न गरिब दलितलाई सामुहिक विवाह गराएका दावी गरेका हुन् । ‘गाउँपालिका अध्यक्ष कन्यादान’ कार्यक्रम अन्तर्गत सो गाउँपालिकाले सोमवार धुमधामसँग सात जोडीको सामुहिक विवाह गराए ।
विवाहका लागि भव्य पण्डाल बनाइएको थियो । विवाह समारोहमा उपस्थित अतिथिलाई गम्छा ओढाएर स्वागत गरियो । मिथिला परम्परा अनुसार सातै जोडीको विवाह सम्पन्न गरियो। विवाहमा गरेको तामझामले कुनै धनाढ्य छोरा–छोरीको विवाह भइरहेको जस्तै स्थानीयले अनुभव गरे । अहिले गाउँपालिका अध्यक्ष चौधरीको कतै प्रसंशा त कतै आलोचना भइरहेको छ । गाउँपालिकाले १० जोडीको सामुहिक विवाह गराउन ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जसमध्ये सात जोडीले मात्र निवेदन दिएपछि उनीहरूको विवाह गराइदिए ।
गाउँपालिका अध्यक्ष चौधरीले सात जोडीको विवाह गराउँदा करिब २५ लाख खर्च भएको सुनाए । बेहुली पक्षको भूमिका निर्वाह गरी गाउँपालिका अध्यक्ष चौधरीले बेहुला पक्षलाई भाडावर्तन, लत्ताकपडा, फर्निचर, सृङ्गारसहितका ५५ प्रकारका समान उपलब्ध गराए । यति मात्र होइन्, बेहलालाई सुनको अँगुठी र बेहुलीलाई सुनको फुली समेत प्रदान गरिएको छ । अध्यक्ष चौधरी भन्छन्, ‘हिन्दु परम्परा अनुसार सुनको गहना बिना विवाह हुँदैन । त्यसैले सुनको गहना पनि बेहुला र बेहुलीलाई दिएका छौं ।’ मधेसमा कोही पनि दाइजो बिना विवाह नगर्ने गरेको र गरिबले छोरीको विहे गर्न ऋण बोक्नुपर्ने भएकाले सामुहिक विवाह गर्ने नीति लिएको दावी गरे। उनले सरसमान बेहुलालाई दिनु गैरकानूनी नभएको पनि तकृ गरे। यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले गाउँपालिकाले सामुहिक विवाह गराउन मिल्ने तर सरसमान दिन नमिल्ने बताए ।
उनले गाउँपालिकाले बेहुला पक्षलाई राज्यको ढुकुटीबाट सरसमान र सुनका गहना दिएर गैरकानूनी काम गरको े बताए । उनले भने, ‘सामुहिक विवाहमा सहभागी हुन मलाई पनि निम्तो दिएको थियो। म त्यहाँ पुगे पनि । तर धेरै तामझामका साथ विवाह भइरहेको थाहा पाएपछि तत्कालै फर्किए ।’ उनले उजुरी परेमा वा सञ्चारमाध्यममा समाचार आएपछि अनुसन्धान गरिने र कारबाहीका लागि अख्तियारमा सिफारिस पठाउने पनि बताए ।
तपाईको प्रतिक्रिया !!