
मनोज यादव । सर्लाही । सर्लाहीको पश्चिमी क्षेत्रमा पर्ने धनकौल गाउँपालिकामा कृषि समूहमा आवद्ध भइ व्यवसायी तरकारी खेती गर्दै आएका स्थानीय महिला समूहका सदस्यहरूले खाद्य तथा कृषि संस्थानले वितरण गरेको गुणस्तरहीन बीउका कारण ऋण लिएर लगाएको तरकारी खेती बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। निःशुल्क रुपमा बीउ पाउने भएपछि गाउँमै साहु महाजन सँग चर्को ब्याजदरमा ऋण लिएर गरेको तरकारी खेती पुरै बिग्रिएका उनीहरूले गुनासो गरेका छन् । तरकारी बेचेर पैसा कमाउने सपना देखेका स्थानीय महिला किसानहरूको टाउकोमा झन ऋणको भार थपिएको छ ।
संस्थानले आफुहरूलाई झुक्याएर वितरण गरेको गुणस्तरहीन बिउका कारण खेती बर्बाद मात्रै भएन रातदिन गरेको मेहनत समेत खेर गएको ब्रह्मबाबा महिला कृषि समूह धनकौलकी सदस्य रवतीया देवीले बताइन् । संस्थानले समूहलाई समयमा कुनै सामग्री समेत वितरण नगरेको गुनासो गर्दै कमसल जातको बिउ विजनका कारण आलु, प्याज, काउली, बन्दाकोभीलगायतका तरकारी बाली पुरै बिग्रिएको रवतीया देवीले बताइन्। सुरुका दिनमा समूह बनाउने बेला संस्थानले राम्रो र गुणस्तरीय बीउ वितरण गरेपनि अहिले आएर कमसल जातको बिउ वितरण गर्न थालेको समूहकै अर्का एक सदस्य शान्ति देवीले बताइन । खाद्य तथा कृषि संस्थानद्वारा वितरण गरिने बीउ विजन र कृषि सामग्रीहरूको माग स्थानीय स्तरमा उच्च रहेपनि लक्षित समूहसम्म ढिलो गरि पुग्ने गरेको छ ।
संस्थानले खेतीको लागि आवश्यक पर्ने रासायनिक मल, किटनाशक औषधी, स्प्रे टयांकी, पम्पसेट, कोदालो बिउविजनलगायतका सामग्री समयमा वितरण नगर्दा स्थानिय स्तरमा कृषि क्षेत्र धरासायी बन्दै गएको र कृषिमा निर्भर रहेका परिवार समस्यामा परेको शान्तीदेवीले गुनासो गरिन्। कमसल विउविजनकै कारण आफुहरूले दिनरात मेहनत गरेर गोडमेल गरेको बालीमा फल समेत नलागेको र केहीमा लागेपनि सानो र अस्वस्थ फल लागेकाले काटेर गाईवस्तुलाई खुवाउने गरेको महिला सदस्यहरूले बताएका छन् । ग्रामीण क्षेत्रमा परिवारको भरण पोषणका लागि आम्दनीको एकमात्र स्रोत कृषि पेसा भएकोले कमसल जातको बिउका कारण पेशा संकटमा परि परिवार बिच्चलीमा परेको समूहका सदस्यहरूले दुखेसो रहेको छ । वि.स २०७२ साल चैत्रमा खाद्य तथा कृषि संस्थाद्वारा ग्रामिण महिला सशक्तिकरणका कार्यक्रम संचालन गर्न भन्दै सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ३ र ५ मा गरी जम्मा ९ वटा महिला कृषि समूह गठन गरिएपनि सम्बन्धित निकायको चरम लापरवाहीका कारण गठन भएका समूहहरू अहिले कागजमै सिमित हुन पुगेको स्थानीय बताएका छन्।
तपाईको प्रतिक्रिया !!