सन्तोष यादव ,जनकपुरधाम : खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनुषामा एक महिलाले आत्महत्या गरेकी छन् ।
औरही गाउँपालिका २ देउरीका रामजीवन यादवकी पत्नी अन्दाजी ३६ वर्षीया बिनितादेवीले आत्महत्या गरेकी हुन् । घटना शुक्रवार दिउँसो ३ बजेको हो। प्रहरीले कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएर राखेको छ । उनका श्रीमान रामजीवन भने वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा छन्।
श्रीमान घरमा नभएको बेला समाजले गरेको अपमान सहन नसकेर ति महिला आत्महत्या गरेको स्थानीय एक युवकले बताए । उनका अनुसार बिनिता र अन्य दुई महिला घाँस काट्न खेत गएकी थिइन्। सोही क्रममा एक खेतधनी महिलाले साग टिपेको भन्दै उनीहरूलाई कुटपिट गरिन्। कुटिएकी उनी तीनैजना स्थानीय भरभलादमीलाई सुनाए । विवाद समाधान गर्न समाजका अगुवाहरू भेला भए । छलफल भयो।
तर न्यायका लागि गुहार मागेकी तीनैजना महिलालाई नै अगुवाहरूले दोषी ठहर गरे। बिनितालाई ५ हजार र अन्य २ जनालाई २५÷२५ सय जरिवाना सुनाए । गल्ती नगर्दा पनि जरिवाना तिर्न लगाएर अपमान गरको े भन्दै बिनिताले आत्महत्या गरेको स्थानीय बताउँछन्। भेलामा वडाध्यक्ष अमित यादव पनि थिए । उनले नै जरिवाना तिर्नुपर्ने निर्णय गरको स्रोतको दावी छ । यद्दपी यसबारे पुष्टि भने हुन सकेका छैन । वडाध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा उनको मोवाइल अफ छ । उनी वडा कार्यालयमा समेत भेटेनन्। घटनापछि उनी मोवाइल अफ गररे सम्पर्क बाहिर छन्। घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न बिनिताकी ससुराले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्। प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले भन्छन्, ‘घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न उजुरी आएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।
’ डिएसपी मिश्रका अनुसार ति महिला आफ्नै स्टोर कोठाको पंखाको कडीमा सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । समाजले निर्दोष ति महिलालाई जरिवाना तिर्न लगाउँदा आत्महत्या गरेको जिज्ञासामा डिएसपी मिश्रले यस विषयमा केहि थाहा नभएको बताए । वडाध्यक्ष यादवलाई बचाउने प्रयासमा प्रहरी लागेको स्थानीयको आरोप छ । स्थानीय एक नेताले भने, ‘गाउँमा जताततै अहिले त्यही चर्चा चलिरहेको छ । तर प्रहरी भन्छन् थाहा छैन । अनुसन्धान नै नगरेपछि कसरी थाहा हुन्छ ?’
किशोरीले पनि झुण्डिएर प्राण त्यागिन् समाजले गरेकोे अपमान सहन नसकेर बिनितादेवीले आत्महत्या गरेको घटनाको २४ घण्टा नबित्दै शनिवार दिउँसो एक किशोरी पनि झुण्डिएर प्राण त्यागेकी छन्। हँसपुर नगरपालिका ८ का बिनोद मुखियाकी १६ वर्षीया छोरी रामकुमारीले आँपको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी किन आत्महत्या गरेको विषयमा केहि खुल्न सकेका छैन । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!