
मनोज यादव । सर्लाही । तराई मधेशका गाउँघरमा धान गहुँ लगायत दाल दलहन भण्डारण गर्नका लागि प्रयोग गरिने बाँसको भकारी लोप हुन थालेको छ । समय परिवर्तन सँगै मानिसहरूले अन्न भण्डारण गर्नका लागि बाँसको भकारीको सट्टामा बजारमा पाइने टिन तथा जस्तापाताका भकारीहरूको प्रयोग गर्न थालेपछि जीवनयापनका लागि बाँसको भकारी बनाएर बिक्री गर्दै आएका डुम समुदायको पुर्खौली पेशा नै संकटमा परेको छ ।
तराईका डोम, मुसहर, हलखोर लगायतका दलित समुदायले युगौंदेखि धान, गहुँ, दाल दलहन लगायतका अन्न भण्डारण गर्नका लागि प्रयोग हुने बाँसको भकारी बनाइ जीवनयापन गर्दै आएपनि आधुनिक युगमा फलाम, स्टील र जस्तापाता बाट बनाइएका विभिन्न आकर्षक खालका भकारी लगायत अन्य सामाग्री बजारमा आएपछि बाँसको भकारीको माग दिनानुदिन घट्दै गएपछि दलितहरूको पुर्खौली पेशा संकटमा परेको हो । पहिलेको समयमा अन्न भण्डारण गर्नका लागि सैयौं मन धान, गहुँ, मसुरी, मकै लगायतका अन्न सुरक्षित रुपमा राख्नका लागि जमिन्दार र धनीहरूको घरमा ठुला ठूला भकारी हुने गरेको तथा सामान्य किसानको घरमा १५ देखि २५ मन अन्न भण्डार गर्नका लागि स–साना भकारी प्रयोग हुने गरेकोमा त्यस्ता भकारी बनाइ जीवनयापन गर्दै आएका दलितहरूको हाल बजारमा पाइने आधुनिक किसिमको भकारी प्रति सर्वसाधारण जनताको आकर्षण बढदै गएर बाँसको भकारीहरूको बिक्री एकदम कम हुनथाले पछि यस पेशामा संलग्न दलितहरू अन्य पेशा अंगाल्न थालेका छन्। मलंगवा नगरपालिका वडा न–५ भाँडसर स्थित ओरलैहा टोलका जोगिन्द्र डोमका अनुसार परापूर्व कालदेखि आफ्ना पुर्खाहरूले बाँसको भकारी, सुप, नाङ्गलो, ढकिया, डलिया लगायतका बाँसका सामाग्रीहरू बनाएर स्थानीय बजारमा बेचेर जीवन यापन गर्दै आएकोले आफूले पनि सोही पेशा अंगालेको बताए ।
उनले समय परिवर्तन सँगै बाँसको सामाग्रीहरू प्रति मानिसहरूको आकर्षण बिस्तारै घट्दैकोले यस्ता सामाग्रीहरू लोप हुदैं गएको बताए । आफुले पनि पेशा नै परिवर्तन गरी अहिले अन्य कामको खोजीमा रहेको उनले बताए । उनले बाँसबाट भकारी बनाउन समय र खर्च बढी लाग्ने गरेको र विक्री गर्दा मुनाफा पनि एकदमै कम हुने गरेकोले घरपरिवार चलाउन धौं–धौं परेको गुनासो गरे । त्यस्तै सोही ठाउँ बस्ने लिलिया देवी मल्लीले पहिला पहिला किसानहरूले उत्पादन गरेको धान, गहुँ र दलहन बाली भण्डारण गर्न बाँसको भकारीको प्रयोग गर्थे र यसको बिक्री पनि राम्रै हुने गर्थ्यो तर अहिले आएर गाउँ देखि सहर बजार सम्म आधुनिक भकारीको प्रयोग हुन थालेकाले गरेपछि यसको माग घटेको बताइन्।
माटो लेपेको भकारीमा राखिएका अन्न वर्षौंवर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रिने र स्वस्थ्यकर हुने स्वास्थ्यकर्मी रामविनय यादवको भनाइ छ । पछिल्ला दिनमा यस्ता भकारीको निर्माण हुन छाडेपछि अन्नलाई किरा र घुनबाट बचाउन विषादीको प्रयोग हुन थालेको र त्यसले जनस्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको उनले बताए । कविलासी नगरपालिका वडा १० सलेमपुरका दिनेश राय यादवले आजकालको युगमा अन्न भण्डारण गर्नका लागि घरमा बाँसको भकारी राख्दा घरको रौनक घट्ने तथा आफू कहाँ आउने आफन्त र पाहुनाले हाँसो उडाउने मान्यता बोकेका कारण पनि यसको प्रयोग तथा बिक्रीमा नकरात्मक असर परेको बताए ।
तपाईको प्रतिक्रिया !!