
आशिष विश्वकर्मा । सिरहा । लामो समयदेखि आफ्नो शिक्षकले नपाएको तलव तत्काल पाउनुपर्ने माग गर्दै विद्यार्थीले विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन् । शिक्षकहरूले गत चैतबाट नपाएको तलव सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग गर्दै जनता माध्यमिक विद्यालय लक्ष्मीपुर पतारी गापा ५, खरुक्याहीका विद्यार्थीहरूले आफ्नै विद्यालय र वडा कार्यालयमा तालावन्दी गरेका हुन् । मावि पढाउने निजी श्रोतका ४ जना शिक्षकहरूले तलव सुविधा नपाएर ‘पेन डाउन’ गरेपछि शिक्षकको समर्थनमा विद्यार्थी तालाबन्दी गर्न बाध्य भएका बताइएको छ । विद्यार्थीहरूका अनुसार तलव नपाएको भन्दै शिक्षकहरू विद्यालय आएपनि पठन–पाठन गराउन सक्रिय नहुँदा ताला बन्दीमा उत्रिएको कक्षा १० का ज्योती यादवले बताए ।
लकडाउन पछि विद्यालय खुलेपनि राम्रो पठन पाठन नभएको उनको गुनासो रहेको छ । उनले विद्यालय खुलेपनि विभिन्न भेला तथा छलफल र शिक्षकले तलव नपाउँदा पठन–पाठन नै अवरुद्ध हुँदै आएको सुनाए । उनले भने, ‘कहिले शिक्षकलाई तलव ख्वाउने विषयमा, कहिले व्यवस्थापन समिति गठनको विषयमा हुने छलफलले विद्यालयको पठन पाठन अवरुद्ध हुँदै आएको हो।’ विद्यार्थीहरूले आफ्ना शिक्षकहरूलाई तत्काल तलव उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालबन्दी गर्ने चेतावनी दिए । तालाबन्दीका कारण तीन दिनदेखि विद्यालयको पठन पाठन अवरुद्ध भएको छ । शिक्षकहरूले पनि तलव खान नपाएपछि पढाउने जाँगर कम भएको स्वीकार गरे। विद्यालयका नीजि स्रोतका शिक्षक उमेश कुमार चौधरीले विहान देखि बेलुकासम्म काम ग¥यो, साथमा मोवाईल रिचार्ज गर्ने पैसापनि नभएपछि कसरी पढाउने जाँगर चल्छ ? प्रतिप्रश्न गरे। निजी स्रोतकै अर्का शिक्षक शिवनारायण यादवले विद्यालयले लामो समयसम्म तलव नखुवाउँदा घरखर्च चलाउनै समस्या भएको भन्दै यस्तो अवस्थामा कामगर्ने जाँगर मररे गएको सुनाए ।
विद्यालयका निमित्त प्र.अ. अरुण कुमार यादवले हामीले हाम्रा शिक्षकहरूको तलवका विषयमा गाउँपालिकालाई पटक–पटक लिखित अनुरोध गर्दा पनि वास्ता नगरेको बताए । उनले भने, ‘हामीले शिक्षकको तलवको लागि पटक –पटक लिखित अनुरोध ग¥यौं, सुनवाई नभएपछि बाध्य भएर पठन–पाठन नै अवरुद्ध गर्ने अवस्था आयो।’ यता वडा अध्यक्ष महेन्द्र साहले शिक्षकहरूलाई तलव खुवाउने विषयमा आफूले गाउँपालिकासँग समन्वय गरिरहेको जनाए । उनले भने, ‘मैले गाउँपालिकासँग समन्वय गरिरहेको छु, विभिन्न कारणवस भईरहेको थिएन अव चाँडै शिक्षकहरूले तलव पाउनुहुन्छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले गाउँपालिकाले आन्तरिक स्रोतबाट तलव खुवाउने गरी योजना बनाई रहेको बताए ।
५ नम्वर वडामै रहेको पोखरीहरू ठेक्का प्रकृयामा रहेको भए पनि विवादका कारण लाग्न नसकेको बताउँदै प्रमुख लामाले अन्य स्रोतबाट भएपनि शिक्षकहरूलाई छिटै तलव भत्ता व्यवस्था गर्ने सल्लाह भईरहेको सुनाए । उनले भने, ‘अध्यक्ष जी विशेष कामले जिल्ला जानु भएको छ, हामीले पछि सोधभर्ना हुनेगरी अन्य स्रोतको रकम भएपनि शिक्षहरूलाई दिने सल्लाह गरिरहेका छौं ।’ एक देखि १० कक्षा सम्म पठन– पाठन हुने सो विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत छन्। शिक्षक भने प्रा.वि. तर्फका ३ जना स्थायी दरवन्दी, २ जना राहत र ४ जना निजी स्रोतका गरी ९ जनामात्र छन्। त्यसमा पनि समयमा तलव सुविधा नपाउँदा शिक्षकहरू निरास भएका छन्।
तपाईको प्रतिक्रिया !!