
रौतहट । शहरी विकास मन्त्री प्रभु साहले विगतमा चुनाव जितेको रौतहटको क्षेत्र नम्वर ३ धुँवामुक्त बन्दै गएको छ । धुँवामुक्त बनाउने अभियान अन्तरगत मंगलबार गुजरा नगरपालिका ८ र ९ मा कुल ७११ परिवारलाई निःशुल्क ग्याँस सिलिन्डर तथा चुल्हो बितरण गरिएको थियो। प्रदेश सांसद कुन्दन कुश्वाहाले मन्त्री साहकै योजना अनुसार ग्यांस सिलिन्डर तथा चुल्हो बितरण गरिएको बताए । गत संसदीय निर्वाचनमा मन्त्री साहले परम्परागत दाउरा बालेर खाना पकाउदा गृहिणीको आँखा बिग्रने तथा श्वासप्रश्वास र स्वास्थमा असर पुग्ने भएकाले आफ्नो कार्यकालमा निर्वाचन क्षेत्रलाई धुँवामुक्त बनाउने घोषणा गरेका थिए ।
हालसम्म सो क्षेत्रका गुजरा, कटहरिया, फतुवा बिजयपुर, मौलापुर, देवाही गोनाही र गरुडा नगरपालिकामा निःशुल्क ग्याँस सिलिन्डर तथा चुल्हो बितरण हुँदै आएको प्रदेश सांसद कुश्वाहाले बताए । कार्यक्रममा नेकपा प्रदेश २ कमिटी सदस्य तथा मौलापुर नगर प्रमुख रिनाकुमारी साह, प्रदेश कमिटी सदस्य त्रिभुवन साह, मेयर प्रत्यासी पलट चौधरी, नेकपा नेता रसिद अन्सारीलगायतकाले शहरी विकास मन्त्री साहको अभियानले हजारौं गृहिणी प्रत्यक्ष लाभान्वित भएको भन्दै प्रसंसा गरे। मन्त्री साहको संसद विकास कोष, प्रदेश सांसद कुश्वाहाको संसदीय विकास कोष, स्थानीय तह, विभिन्न संघ–संस्थाको सहयोगमा क्षेत्र नम्वर ३ अन्तरगत निर्वाचनदेखि हालसम्म मौलापुर नगरपालिका धुँवामुक्त भइसकेको प्रदेश कमिटी सदस्य त्रिभुवन साहले बताए ।
अन्य नगरपालिकामा पनि ग्याँस सिलिन्डर तथा चुल्हो बितरण भइसकेको र बाँकी रहेका केही वडामा अगामी वर्ष वितरण गरी धुँवामुक्त घोषणा गर्ने योजना रहेको उनको भनाई छ ।
तपाईको प्रतिक्रिया !!