जनकपुरधाम । प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय स्थापना गरेको छ । बुधवार एक समारोहबीच जनकपुरस्थित प्रादेशिक अस्पताल प्रारङ्गणमै मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानलाई अगाडी बढाउन हरेक किसिमको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
उनले सबै रोगको उपचार प्रादेशिक अस्पतालभित्रै होस् भन्ने जनताको वर्षौदेखिको आकांक्षा अब पुरा हुने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्र बिग्रिनुको मुख्य कारक सकारको गलत नीति रहेको उनले जिकिर गरे। उनले विगतभन्दा अहिले अस्पतालको अवस्थामा सुधार आएको पनि दावी गरे। उनले भने, ‘अहिले सुरुवात हो। चिन्ता गर्नुपर्दैन । यही एमएस, एम्डी, एमबिबिएस लगायत सबै पढाइ हुन्छ ।’ उनले सरकारी अस्पतालमा काम गर्ने डाक्टरले नीजि क्लिनिक संचालन गर्न नपाउने नीति प्रदेश सरकार बनाउन लागेको पनि बताए । ‘पढ्दा पढ्दै डाक्टरको आधा उमेर बित्छ’, मुख्यमन्त्री राउतले भने, ‘पढेर काम गर्न खोज्दा जटिल नियुक्ति प्रक्रियाले समस्या पर्छ । बस्ने र काम गर्ने वातावरण बन्दैन । त्यसैले अब सबै समस्या समाधान गर्न चाहेका छौं ।’ उनले डाक्टरको तलब कम्तिमा डेढ लाख हुनुपर्ने पनि बताए ।
तलब सम्मानजनक नरहेकाले नै नीजि क्लिनिक संचालन गर्न डाक्टरहरू बाध्य हुने गरेको उनको भनाई थियो। यस्तै सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतिष्ठानको कार्यालय स्थापना भएपछि अब प्रदेशवासीको ठूलो सपना पुरा भएको बताए । उनले भने, ‘सामान्य विरामी पनि प्रदेश १ वा प्रदेश ३ मा गएर उपचार गराउनुपर्छ । जसका कारण यस प्रदेशबाट धेरै रकम अन्य प्रदेशमा पुग्छ । त्यसैले पनि सबै रोगको उपचार होस् भन्ने उदेश्यले प्रतिष्ठान गठन भएको छ ।’
तपाईको प्रतिक्रिया !!