धर्मेन्द्र पासवान , सिरहा : सिरहाको धनगढीमाई नगरपालिकाले थालेको सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७२ आश्विन १ मा नगरपालिका स्थापना भएदेखि नै नगरपालिकाले तत्कालिन गाविस भवनबाट आफ्नो सेवा दिंदै आइरहेको छ । आफ्नै प्रशासनिक भवन नहुँदा कार्यालयको कामकाज छुट्टा–छुट्टै भवनबाट दिनुपरेका कारण सेवा प्रवाहमा समस्या भएको थियो। सोही कारण नयाँ भवन निर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ ।
सुविधा सम्पन्न भवन अभावमा विभिन्न ठाउँबाट कार्यालय संचालन गर्नुपर्दा सेवा प्रवाहलाई नजिकबाट अनुगमन गर्ने स्थिति नरहेकोले नयाँ भवन निर्माण कार्यलाई तिब्रता दिईएको नगर प्रमुख हरिनारायण चौधरीले बताए । उनले नगरपालिकामा भवनको अभाव भएपनि पुर्वाधार शाखा र नगर प्रमुखको निजी सचिवालय बाहेक कार्यालयको सबै शाखाको सेवा नगरपालिकाले सार्वजनिक भवनबाट नै दिइरहेको र आर्थिक बचत पनि भइरहेको बताए । उनले भने– “ठेक्काको हिसाबले भवन निर्माण पुरा हुन करिब १ वर्ष लाग्छ । तर हामीले कम्तीमा दुई तल्ला तयार गरेर भएपनि असोज मसान्तसम्म कार्यालयको सम्पूर्ण सेवा नयाँ भवनबाट दिने योजना रहेको छ ।” हालको कार्यालय पुर्व–पश्चिम राज्यमार्गसंगै भएपनि बनिरहेको नयाँ प्रशासनिक भवन करिब १ किलोमीटर पुर्व–दक्षिणमा अवस्थित छ ।
बनिरहेको भवनमा भुमिगत तल्लामा पार्किङ बनाइएको नगरपालिकाको पुर्वाधार शाखाका प्रमुख इन्जिनियर शम्भु कुमार यादवले जानकारी दिए । उनका अनुसार नयाँ भवनमा भुइँ तल्ला, पहिलो, दोस्रो र तेस्रो तल्लासम्म रहेको छ । उक्त भवनमा फरक क्षमता भएका व्यक्तिका लागि अपाङ्गमैत्री लिफ्ट समेत रहने छ । सम्भवतः प्रदेशमै कुनै स्थानीय तहको भवनमा लिफ्ट प्रयोग भएको यो भवन नै पहिलो हो। भवनको ८० प्रतिशत बढी काम सम्पन्न भइसकेकोले सम्झौता मिति भन्दा पहिल्यै हस्तान्तरण भइसक्ने इन्जिनियर यादवले विश्वास व्यक्त गरे।
कृषि र पशु शाखा एउटा भवनमा, शिक्षा स्वास्थ्य नगर उप–प्रमुख र न्यायिक समिति नयनपुर अस्पतालको भवनमा रहेकोमा नगरपालिकाले करीब १३ कठ्ठा क्षेत्रफलमा बनाइरहेको भवनमा सबै विषयगत शाखा अलग–अलग रहने धनगढीमाई नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले बताए । उनका अनुसार २०७६ असार ३० मा सम्झौता भइ १२ करोड ७३ लाख ५० हजार ३ सय १४ रुपैयाँ ४२ पैसा मुल्य अभिवृद्धि कर र पिएस बाहेक कार्य आदेश भएको मितिले तीन वर्षमा काम सम्पन्न भइसक्ने सम्झौता भएको छ ।
तपाईको प्रतिक्रिया !!