जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा मंगलबार एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेकोे छ । कमला नगरपालिका २ माचि झिटकैयामा अन्दाजी ३५ वर्षीया संगीतादेवी गडेरी राउतको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मंगलवार विहान घर नजिकैको खेतमा राउतको मृत शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो। प्रहरीका अनुसार कपडाले घाँटी थिचेर हत्या गरेकोे देखिएको छ । शव नजिकै मृत महिलाको सल(कपडा) समेत फेला परेको र त्यही सलले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुमान छ ।
मृतक महिला खुशीलाल गडेरीको जेठी श्रीमती हुन्। घटनापछि उनका श्रीमान खुशीलाल फरार छन्। श्रीमान फरार भएपछि हत्यामा श्रीमानकै संलग्नता देखिएको एक प्रहरी अधिकारीले बताए । उनका अनुसार दुई श्रीमतीबीच भएको घरायसी विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले पनि घटना शंकास्पद देखिएको बताए । उनले घटनाको विषयमा अनुसन्धान सुरु गरिसकेको बताए । उनका अनुसार मृतक महिलाको घाँटीमा निलडाम रहेको छ भने मुखमा समेत चोट लागेको देखिएको छ । घटनाको छानविनका लागि फरार भएका उनका श्रीमानको खोजी गरिरहेको उनको भनाई छ ।
तपाईको प्रतिक्रिया !!