
टुडे एक्सप्रेस । महोत्तरी । श्रीपञ्चमीका अवसरमा मंगलवार महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन्। पराम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानले श्रीपञ्चमीका दिनलाई कृषि कार्यको शुरुआत मान्दै हलो र गोरुको पूजा गर्छन्। किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरूसहित हलो राखेर पूजाआजा गरेका छन् । साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ् गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन् ।
किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन जोत्ने गर्दछन्। श्रीपञ्चमीका दिन धेरै किसानले नयाँ किनेको गोरुले पहिलो पटक खेत जोत्ने गर्दछन्। उनीहरूले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्। श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर प्रसाद तयार पार्दछन्। हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन्।
मिथिलाञ्चलका किसान श्रीपञ्चमीका दिनबाट आफ् नो खेतीपाती शुरु भएको समेत मान्दछन् भने आ–आफ् ना बाँझो खेतबारीसमेत जोत्न शुभारम्भ गर्दछन्। हलोगोरु पूजाका अवसरमा गाउँ–गाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरूपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद् हुन्छ ।
तपाईको प्रतिक्रिया !!