
कमलेश ठाकुर,जनकपुरधाम : प्रदेश २ सरकारको तीन वर्ष पुरा भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस भवनमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारको ९३ बुँदे उपलब्धि सार्वजनिक गरे। उनले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम् हितलाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अगाडि बढिरहेको बताए । बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि अपेक्षा अनुसार नभएपनि सन्तोषजनक रहेको बताए । संघको हैकम, नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको बताए । संघसँग नीति बाझ्ने गरेकाले कतिपय प्रदेश सरकारले बनाएको विधेयक कार्यनव्यनमा नआएको उनले बताए । यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बावजुद सुशासन स्थापनार्थ गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे । तर, तीन वर्षको अवधिमा कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार विकास, कृषि, सिचाईँ, सडक, राष्ट्रिय गौरवको योजना स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेटी बचाउ बेटी पढाउ, कानून निर्माण, स्वास्थ्य तथा शिक्षामा सुधार र कोभिड–१९ जस्ता महामारीलाई नियन्त्रण लगायतमा अपेक्षाभन्दा बढी काम गरेको मुख्यमन्त्री राउतको भनाई छ ।
प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत छोरी वीमा, छात्रा छात्रवृत्ति, साइकल वितरणलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको, छोरीहरूलाई सबै निकायमा पहुँचको लागि ५० प्रतिशत आरक्षणको व्यवस्था, निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा, छात्रामैत्री शौचालयको व्यवस्था लगायतका कार्यक्रम सम्पन्न गरेको उपलब्धिको रुपमा बखान गरिएको छ । मुख्यमन्त्री स्वाच्छता अभियानअन्तर्गत पर्यटनलाई बढवा दिन २७ वटा पोखरी र प्रदेशस्थित मठ–मन्दिरको सौन्दर्यकरण, विभिन्न सार्वजनिक स्थलहरूमा ६० वटा सार्वजनिक शौचालय निर्माण, जनकपुरका उत्तरी भेग एवम् सिराहा जिल्लामा २० वटा ईनार निर्माण, एकसय वटा सामुदायिक विद्यालयमा खानेपानीको सुविधा र एक सय ५० वटा ह्याण्डपम्प जडान गरिएको छ ।
मधेश आन्दोलनको क्रममा सहादत प्राप्त नागरिकको सम्मान र स्मरण स्वरुप वीरगंज महानगरपालिकाको तिलाबेमा मधेश आन्दोलन सहिद स्तम्भ तथा पार्क निर्माणको कार्य सुरु र आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै सहिद परिवारलाई रोजगारको व्यवस्था समेत गरिएको छ । भौतिक निर्माणतर्फ करिब ५१ किलोमिटर कालेपत्रेसहित तीन सय २० किलोमिटर सडक निर्माण, बजार सेड निर्माण, १४ वटा कल्भर्ट निर्माण, विभिन्न स्थानहरूमा ३० वटा पुल निर्माणको क्रममा रहेको र दुई सय ४० वटा डिपट्यूबेल तथा ३३ वटा पावरड्रिल ट्यूबेल निर्माण सम्पन्न भई साढे पाँच हजार हेक्टर थप जमिन सिचाईँ सुविधा पुर्याइएको उनले सुनाए । कृषितर्फ कृषकहरूलाई विभिन्न तालिमको व्यवस्था, संक्रमणकालीन अवस्थामा कोभिडको मारमा परेका किसानहरूलाई ऋण ब्याज अनुदान, स्वरोजगारका लागि किसानहरूलाई भैंसी वितरण, प्रदेशका विभिन्न स्थानमा कोल्डस्टोर निर्माणाधिन रहेको छ ।
तपाईको प्रतिक्रिया !!