विनय कर्ण,राजविराज : राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल (सप्तरी) ले सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा अभियान शुरु गर्ने भएको छ ।
सप्तरीको राजविराजमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरी बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान बारे जानकारी गराईएको हो ।
राजविराज स्थित राजरंगशाला मैदानमा फाल्गुन १ गते तथा दैलेख बजारबाट एकैसाथ अभियान शुरु हुन लागेको अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले बताए ।
‘देशमा पटक पटक आन्दोलन भए, आन्दोलनमा दलित उत्पिडित समुदायले बलिदानी दियो तर, उनीहरुको आर्थिक, सामाजिक र राजनीतिक अवस्था बदलिएको छैन्’ उनले भने,‘पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले अन्याय र अत्याचार सहनु परेको छ ।’
रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटनाहरु बारे चर्चा गर्दै उनले यी घटनाहरुलाई मध्येनजर गर्दै न्याय, मुक्ती र विभेद विरुद्ध सडकमा उत्रिनुपर्ने बाध्यता आएको बताए ।
‘संयुक्त दलित संघर्षको राष्ट्रिय दलित मुक्ती जागरण अभियानले देशव्यापी रुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्ने र ओली सरकारले पछिल्लो पटक चालेको प्रतिगामी कदम विरुद्धमा पनि हाम्रो आन्दोलन हो ।’ उनले स्पष्ट पारे ।
अभियान अन्तर्गत राजविराजमा २५ हजार भन्दा बढीलाई सहभागी गराईने राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सप्तरीका संयोजक प्रथमलाल रामले जानकारी दिए । पत्रकार सम्मेलनमा अभियानका अगुवाहरु गंगा सदा, बद्री सदा सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !!