वीरगञ्ज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भएका स्रोत साधन र लुकेका पर्यटकिय स्थलको बजारीकरण गर्न नसक्दा पर्यटन व्यावसाय फस्टाउन नसकेको बताएका छन् ।
आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नम्बर २ ले वीरगञ्जमा आयोजना गरेको प्रदेशस्तरीय परिचयात्मक भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का पर्यटकिय स्थलहरुलाई चितवनको सौराहा जस्तै बनाउन किन नसक्ने भन्दै प्रश्न गरे ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने किसिमका थुप्रै प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थानहरु हुँदाहुँदै पनि प्रचारप्रसार गर्न नसक्दा लाभ लिन नसकेको धारणा राखेका थिए । दृढ इच्छाशक्ति र संकल्पका साथ ठोस योजना लिएर प्रदेशलाई पर्यटकीय हब बनाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिएका थिए ।
प्रदेश नम्बर २ को सप्तरीबाट शुरुवात गरिएको परिचयात्मक भ्रमण कार्यक्रम सर्लाही, महोत्तरी, सिराहा, धनुषा, रौतहट हुँदै पर्साको वीरगञ्ज पुगेको आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश न। २ का सह संयोजक मोहन शर्मा लामिछानेले बताए ।
प्रदेशभित्रका लुकेर रहेका पर्यटकिय गन्तव्यहरुको पहिचान गरेर पर्यटकलाई आकर्षण गरी पर्यटन व्यावसायलाई फस्टाउनुपर्ने समितिका प्रदेश संयोजक मनिष झाको भनाई छ ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै अभियानका सल्लाहकार युवाराज लामाले पर्यटकी स्थलको संरक्षण, संवद्र्धन तथा जगेर्ना गर्ने कार्यमा प्रदेश सरकारको सहयोगको आवश्यक्ता औल्याए ।
कार्यक्रममा होटेल तथा पर्यटन पुनरुत्थान समिति प्रदेश न। २ का अध्यक्ष हिरालाल गौतम, बिजय झुनझुनवाला, दिपकमान श्रेष्ठ, बिष्णु साह, बैकुण्ठ सापकोटा लगायतको सहभागीता रहेको होटल तथा पर्यटन व्यावसायी महासंघ प्रदेश नम्बर २ का महासचिब तबरेज आलमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!