जनकपुरधाम : ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमका बीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गर्नुभएको छ ।
नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय ६८ पुगेको छ । शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताउनुभयो ।
‘सबैका लागि बैंक’ भन्ने मुल नारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वा शाखारहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा
प्रदान गर्ने बताउनुभयो ।
उहाँले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिनुभयो ।
तपाईको प्रतिक्रिया !!