काठमाडौं : मधेस राजनीतिलाई प्रभावित पार्ने शीर्ष तहमा छन्, उपेन्द्र यादव र महन्थ ठाकुर । राष्ट्रिय पार्टीको आकार लिएको जनता समाजवादी पार्टी (जसपा) मा दुवै जना अध्यक्ष छन् । तर, उनीहरूबीच राजनीतिक लय मात्र होइन्, स्वभाव र विचारसमेत नमिल्दा पार्टीमा थुप्रै व्यवहारिक कठिनाइ उत्पन्न भइरहन्छ ।
दुवै नेताले आफूलाई मधेस राजनीतिको मसिहा ठान्छन् । तर, एकले अर्कालाई नस्वीकार्ने प्रवृत्तिले मधेस राजनीतिका यी दुई धारको एकताबाट अपेक्षित शक्ति आर्जन भएको देखिँदैन ।
पार्टीमा समान वरियतामा रहेर पनि सम्बन्ध न्यानो नहुनुका केही खास कारणहरू छन् । पहिलो, राजनीतिक पृष्ठभूमिले यादव र ठाकुरको सम्बन्ध अन्र्तघुलनलाई प्रभावित पारेको छ । ठाकुरले जीवनको उर्जावान समय नेपाली काँग्रेसमा बिताए । मधेस आन्दोलन अघि बढिसकेपछि मात्र उनी मिसिए । जबकी, यादव बाम राजनीतिबाट आए र मधेस आन्दोलनको प्रमुख नेताका रुपमा उदाए ।
मधेसको क्षेत्रीय परिधी फैलाएर राष्ट्रिय राजनीतिमा आइपुग्दा उनीहरू एकैठाउँ छन् । भावनात्मक र राजनीतिक रुपमा नजिक हुन नसके पनि प्राविधिक र कानूनी रुपमा भने उनीहरू एउटै पार्टीको अगुवाई गर्दैछन् । लय नमिलेको गतिमा पार्टी नेतृत्व सम्हालिरहेका छन् ।
दोस्रो, यी दुई नेताको मिसन र भिजनमै भिन्नता छ । महन्थ ठाकुर इतिहासमा रुची राख्छन् । तर, विश्लेषण गर्न र तत्कालीन तथा दीर्घकालीन योजना बनाउन भने सक्दैनन् । ०६३ अघिसम्म उनी कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाका एस–म्यान जस्ता थिए । त्यसैले उनीसँग नेतृत्व कलामा कमी छ ।
०६४ पुसमा नेपालगन्जमा मधेसी–पहाडी साम्प्रदायिक सद्भाव भड्कियो । मधेस आन्दोलनमा उत्प्रेरकको काम ग¥यो । त्यतिबेला ठाकुर कोइराला सरकारमा मन्त्री थिए । सो घटनाको एक महिनापछि सुरु भएको मधेस आन्दोलनसम्मै यादव र ठाकुर दुई ध्रुबमै थिए । सिंगो तराई–मधेस आन्दोलित भएपछि मात्र उनी राजनीति जोगाउन कांग्रेसबाट बिद्रोह गर्ने तहमा पुगेका थिए ।
मधेस आन्दोलनको राप ताप बढ्दै उनी कांग्रेस, एमाले र माओवादीका मधेसी नेता मिलाएर नयाँ पार्टी गठन गर्ने रणनीति बनाए । तर, उनी मधेसका सर्वमान्य नेता थिएनन् । उनलाई कांग्रेसकै जेपी गुप्ता र विजयकुमार गच्छेदारले पत्याएनन् । अन्ततः ठाकुरले पहिलो संविधानसभाअघि कांग्रेसबाट विद्रोह गरेर तराई–मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० गठन गरे ।
दोस्रो मधेस आन्दोलनमा उनको पार्टी तमलोपा सहभागी थियो । त्यतिबेला पनि यादव र ठाकुरलाई मिलाउन कम्ता हम्मे परेन् । सुरुमा यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र राजेन्द्र महतोको सद्भावना पार्टीको मात्र संयुक्त मधेसी मोर्चा बनेको थियो । लामो वार्ता–संवादपछि ठाकुर र यादव एकठाउँ उभिएर आन्दोलन गर्न मन्जुर भए । तमलोपा थपिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बन्यो । आन्दोलनको मोर्चामा ठाकुर र यादवको पहिलो भेट त्यहीँ भएको थियो । १ फागुन ०६४ मा सुरु भएको मधेस आन्दोलन १६ फागुनमा ८ बुँदे सहमतिसहित संविधानसभा चुनावमा सहभागी हुन तयार भयो ।
आन्दोलन संगै गरे पनि संविधानसभा चुनावमा भने मधेसकेन्द्रीत पार्टीहरू एकैठाउँ रहेनन् । त्यतिबेला मुख्यतः तीन शक्ति थिए, फोरम, तमलोपा र सद्भावना । गठबन्धन बनाएर जान केही कुराले बाधा पु¥याएको थियो भने त्यो यादव र ठाकुरले एकअर्कालाई नस्वीकार्ने प्रवृत्ति थियो ।
तराई–मधेसमा मधेसकेन्द्रीत पार्टीहरूको लहर थियो । छुट्टाछुट्टै चुनाव लडेर पनि फोरम एक्लैले ५३ सीट जितेर मधेसको सबैभन्दा ठूलो पार्टी बन्यो । तमलोपाले २१ सीट जितेको थियो भने सद्भावनाले ९ सीटमा चित्त बुझायो । मधेसकेन्द्रीत दलहरूको त्यो लहरमा पनि ठाकुर भने सर्लाही ६ बाट पराजित भए । चुनाव हारेर पनि संसदमा जान उनको लोकतान्त्रिक आदर्शले भने छेकेन । उनी उनी सरकारले मनोनीत गर्ने २६ सभासद्को कोटामा परेर संविधानसभा छिरे ।
पहिलो संविधानसभामा राम्रो चुनावी नतिजा ल्याएका फोरम र तमलोपा क्रमशः फुट्न थाले । फोरम तीन टुक्रा भयो । गच्छेदारको लोकतान्त्रिक फोरम २८ सांसदसहित अलग्गियो भने जेपी गुप्ताले १३ सहित नयाँ पार्टी खोलेपछि उपेन्द्र यादव १२ सीमा खुम्चिए । तमलोपाबाट ९ सांसदसहित महेन्द्रराय यादव अलग्गिए भने सद्भावनाका ४ सांसदसहित अनिल झाले बेग्दै पार्टी खोले ।
फोरम र तमलोपाको विभाजनका मुख्य कारक यिनै यादव र ठाकुरको कार्यशैली थियो । पार्टीभित्र उस्तै हैसियतका नेताहरूलाई संगै लिएर हिड्न नसक्दा ती पार्टीहरू पुरानो स्थितिमा फर्किन नसक्ने गरी विभाजित भए । ०७० को संविधानसभा निर्वाचनसम्म आइपुग्दा मधेसकेन्द्रीत दलहरू आधा खुम्चिए ।
त्यसपछि सुरु भएको हो, ती दलहरूको एकताको कसरत । डेढ बर्ष लगाएर मधेसका आठ दलहरूको संयुक्त मोर्चा त बन्यो तर एक हुन भने सकेनन् । यो मोर्चाबन्दी संविधान निर्माणका आफ्ना असहमति राख्नेदेखि सीमामा धर्ना बस्नसम्म पुग्यो ।
मधेस राजनीति एकताबद्ध हुन नसक्नुका अनेक कारण छन् । एउटा महत्वपूर्ण कारण नेतृत्वको राजनीतिक पृष्ठभूमि पनि देखिन्छ । र, दुई राजनीतिक धारको नेतृत्व ठाकुर र यादवले गरिरहेका छन् ।
७ बैशाख ०७४ मा तत्कालीन एमाले र माओवादीले चुनावी गठबन्धन बनाएपछि ६ मधेसकेन्द्रीत पार्टीले हतारहतार एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरे । त्यो एकतामा पनि फोरम अलग्गै रहनुमा उनको ठाकुरसँगको दूरीलाई कारण मानिन्छ ।
यादव विचारमा प्रष्ट देखिन खोज्छन् । तर, उनले पटक–पटक अवसरवादी चरित्र देखाइरहेका छन् । जस्तो कि उनी ०७२ सालको संविधान संशोधन हैन, पुर्नलेखन हुनुपर्ने माग राख्दैआएका थिए । राजपा संविधान संशोधन नभई ०७४ को चुनावमा नजाने अडानमा थियो । तर, फोरम पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी भईसकेको थियो । जबकी, संशोधनबारे संसदमा मतदानपछि मात्र राजपा तेस्रो चरणको निर्वाचनमा भाग लिएको थियो ।
०७५ मा केपी ओली नेतृत्वको सरकारमा यादव संविधान संशोधनको २ बुँदे झिनो सहमति बोकेर चार बर्षदेखिको सत्ताको तिर्खा मेट्न पुगे । सरकारमा टिकिराख्न उनले कहिल्यै संशोधनमा बल गरेनन् । कतिसम्म भने उनलाई थाहै नदिई प्रधानमन्त्री ओलीले मन्त्रालय सरुवा गर्दासमेत उनी सत्तामोह देखाएर बसिरहे । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसंग पार्टी एकता गर्दा पार्टी निर्णय गरेर सरकारबाट बाहिरिने सर्त राखिएको थियो । तर, पार्टी बैठकमा आफू अनुकूल निर्णय गराएर यादव सरकारमै टाँसिइरहे । राजपासँग पार्टी एकता लम्बिनुमा पनि उनको सत्तामोह मुख्य कारण थियो ।
राजपासँग त्यतिबेला मात्र पार्टी एकता सम्भव भयो, जब प्रधानमन्त्री ओलीले उनको पार्टी विभाजन गर्ने तयारीसहित अध्यादेश ल्याए । त्यसपछि हो, रातारात राजपा र संघीय समाजवादी पार्टी एकता भएको । त्यसअघिसम्म ठाकुर र यादवको वरियता क्रम नमिल्दा ती पार्टीहरू एकता हुन सकेका थिएनन् ।
यादवभित्र मधेसी समुदायबाट पहिलो प्रधानमन्त्री बन्ने उच्च आकांक्षा रहेको निकटस्थहरू बताउँछन् । त्यसले उनी आफूभन्दा अरु नेतालाई पार्टीमा हाबी भएको देख्न चाहन्नन् । ठाकुरमा पनि पार्टीको पहिलो वरियतामै टिकिरहने मोह छ ।
स्थानीय तहमा कुनै सहकार्य नगरेका राजपा र समाजवादी प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा भने प्रदेश २ मा दुई पार्टीले गठबन्धन गरे । त्यो गठबन्धनको अन्र्तय पनि एउटै थियो । ठाकुर र यादव मात्र होइन्, शीर्ष तहका नेताहरू ढुक्कसँग चुनाव जित्न चाहन्थे । सुरक्षित क्षेत्रको खोजीमा यी दुई नेताले आफ्ना परम्परागत निर्वाचन क्षेत्रबाट चुनाव लडेनन् । मोरङ ५ र सुनसरी ५ बाट चुनाव लड्दैआएका यादव चुनाव लड्न सप्तरी २ पुगे । सर्लाहीबाट नजित्ने देखेपछि ठाकुर महोत्तरी ३ बाट चुनाव लडेर प्रतिनिधिसभामा पुगे ।
यादव सप्तरीमा जन्मे हुर्किए । माध्यमिक तह पढ्दैगर्दा सुनसरीको मधुवन सरे । पढाई र रोजगारीका लागि उनी मोरङ पुगे र राजनीति सुरु गरे । ०३५ सालमा पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका यादव ०४८ सालको निर्वाचनमा उनी एमालेबाट सांसद उम्मेदवार पनि बने । एमालेको जिल्ला नेतृत्व पनि सम्हाले । पार्टीमा मधेस मुद्दा कमजोर भएकोभन्दै ०५४ सालमा मधेसी जनअधिकार फोरममा आबद्ध भई मधेस राजनीतिमा लागेका हुन् । फोरममा माओवादी प्रभाव थियो, त्यसैले उनी माओवादीतर्फ आकर्षित भए । ०६१ मा उनी नयाँ दिल्लीबाट सुरेस आलेमगर र मातृका यादवसँगै पक्राउ परे । तर, रामराजाप्रसाद सिंहको सहयोगमा उनी छुटे ।
महोत्तरीमा जन्मे हुर्के पनि ठाकुरको राजनीतिक कर्मस्थल भने सर्लाही हो । पन्चायतकालदेखि उनी राजनीतिमा संलग्न छन् । कांग्रेसबाट सांसद र मन्त्री बने । तर, पार्टी नेतृत्वमा प्रशस्त सम्भावना देखेनन् । जीवनका अधिकांश समय कांग्रेस राजनीतिमा बिताएका उनी उत्तरार्धमा मधेस राजनीतिमा आए । तर, उनले सोचेझै न सर्वमान्य नेता हुन् सके न ठूलो राजनीतिक सफलता नै हात पारे ।
जनता समाजवादी पार्टी ९जसपा०मा आलंकारिक खालको संघीय परिषद् अध्यक्ष डा भट्टराई पछिको वरियतामा कार्यकारी केन्द्रीय अध्यक्ष छन्, ठाकुर र यादव । एकले अर्कोलाई नस्वीकारेर बहुअध्यक्षात्मक प्रणालीको अभ्यास पछिल्ला पार्टी एकतामा असफलजस्तै भईसकेको छ । त्यही असफल प्रणालीमा कानूनी र प्राविधिक डोरीले मात्र अहिले यी दुई नेतालाई बाँधिराखेको छ ।
एउटै पार्टीका दुई अध्यक्ष हुनेबाहेक नेता ठाकुर र यादवबीच खासै अरु समानता देखिदैन । बाम–लोकतान्त्रिक पृष्ठभूमिले दुई नेता मधेसका दुई धारका प्रतिनिधित्व गर्छन् । यादव प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा छन् भने ठाकुर आलंकारिक राष्ट्रपतिसहितको संसदीय प्रणालीको पक्षमा । त्यसैले उनीहरूबीच राजनीतिक दूरी यथावत छ ।
अर्को, कार्यशैलीगत भिन्नताले पनि उनीहरू निकट छैनन् । ठाकुर पार्टी संगठनलाई चल्ते चलाते ढंगले हेर्छन् । यादव भने आफू अनुकूल हुने गरी दौडधुप गर्छन् । बाम राजनीतिको धेरै प्रभाव यादवमा देखिन्छ । उनी संगठनको महत्व बुझ्छन् । ठिक उल्टो ठाकुर व्यक्तिलाई महत्व दिन्छन् । यादव पार्टी विचारबारे प्रशिक्षण चलाउन चाहन्छन् । पार्टीलाई अभियान र कार्यक्रमबाट चलायमान राख्न खोज्छन् । त्यसमा ठाकुरको खासै रुची देखिँदैन् ।
आफूनिकटलाई संरक्षण गर्ने र अवसर दिने मामलामा भने दुवै नेता अगाडि छन् । प्राथमिकता भने केही भिन्न देखिन्छ । ठाकुर नातावादी देखिन्छन् भने यादवमाथि यादववादी भएको आरोप छ ।
यादवमा राजनीतिक चार्तुय छ । उनी राजनीतिक लाभका लागि जालझेल र षडयन्त्र गर्न सक्ने चतुर खेलाडी मानिन्छन् । एक नेताबिरुद्ध अर्को नेता उतार्ने र बैठकको निर्णय आफ्नो पक्षमा ल्याउन सक्छन् । त्यसका लागि नेता कार्यकर्तालाई विश्वास गर्ने र परिचालन गर्ने कला उनीमा छ । उनको तुलनामा यो मामिलामा ठाकुर धेरै पछाडि छन् । उनी झट्ट अरुलाई विश्वाससम्म गर्दैनन् ।
चुनाव, पार्टी कार्यक्रम वा कार्यकर्तालाई खुशी पार्न खर्च ब्यहोर्ने मामिलामा भने ठाकुर उदार रहेको निकटस्थहरू बताउँछन् । यादव भने कार्यकर्ताका लागि एक पैसा खर्च गर्दैनन् भन्ने गुनासो सुनिन्छ ।
पार्टीका केन्द्रीय अध्यक्षद्वयसँग कुनै अनौपचारिक उठबस हुँदैन । पछिल्लो समय दुवै नेताबीच आफ्ना पूर्वपार्टीका भातृसंगठन ब्युताउँने होडबाजी छ । यादवले भैरहवा, नेपालगन्ज, दाङ र जनकपुर पुगेर युवा र महिला संगठनका कार्यक्रम गरे । त्यसको जवाफ ठाकुरले जनकपुरमा त्यस्तै कार्यक्रम गरेर दिईसकेका छन् ।
मधेस राजनीतिका दुई धारका नेता एकठाउँ आएर समान वरियता पाए पनि उनीहरूबीच हार्दिकता भने छैन । पार्टी काममा समन्वय छैन । जसपाका एक नेता टिप्पणी गर्छन्, ‘मधेसको क्षेत्रिय पार्टीबाट राष्ट्रिय पार्टी बन्ने भनेर एकता त गरियो । तर, ठाकुरजी तमलोपाभन्दा बाहिर निस्कनै सक्नुभएन् । यादवजीमा पनि फोरमको प्रशस्तै ह्याङ ओभर छ ।’
तपाईको प्रतिक्रिया !!